ताजा समाचार

तरकारीबाटै आत्मनिर्भर

डडेल्धुरा, ५ वैशाख । पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् ।

यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् ।

अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारी सिमला, लौका, काँक्रा, तितेकरेला बिक्री गरी मासिक रु २० देखि रु ३० हजारसम्म आम्दानी गरिरहेको बताउछन् । यस्तै महादेव कृषक समूहका अध्यक्ष जानकी विक कैनी पनि तरकारीकै आम्दानीले परिवार पालिरहेको बताउछन् ।

आलु, काउली, फर्सी, प्याज, बन्दागोभी, सिमला, भिन्डी, काँक्रा, लौका, तितेकरेलातगायत तरकारीखेती गर्दै आएका उनीहरु अन्न बालीबाट वर्षको छ महिना पनि खान नपुग्ने भएकाले घर खर्चदेखि छोराछोरीको पढाइका लागि तरकारीखेतीको भर पर्नुपरिरहेको बताउछन् ।

यहाँका महिला अन्य व्यवसाय छोडेर जमिन भाडामा लिई तरकारीखेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रम सुरु भएपछि तरकारीखेती गर्न सजिलो भएको उनीहरुको भनाइ छ । पोखरालगायत जिल्लाको विभिन्न क्षेत्रका कृषकलाई सिँचाइ तथा तरकारीमा प्राविधिक सहयोग दिइरहेको बहुउद्देश्यीय विकास समाजको अनुकूलन परियोजनाका कृषि प्राविधिक मुकेश साउदले जानकारी दिए ।

किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org