ताजा समाचार

कविता : मलाई बेहुला बिना बेहुली बनायो !

जब आँखाबाट बलिनधारा आँसु झारेर
अँगालोमा बाँधेर भक्कानिदै तिमी रोयौ,
हो, त्यही बेला नै मेरो मुटुले
ठाउँ छोडेको थियो ।
अघिसम्म नयाँनयाँ सपना कल्पिएकी म,
तिम्रा झरेका आँसुसँगै सोह्रीएर
कलिला मनका शुसजित यी खेतहरुमा,
गल्यामगुर्लुम्म ढुङ्गा, मुढा र चट्टानसँगै
आँधिभेरी आएर,
ऊर्जाशिल हृदयका
मलिलो माटोलाई
पलमै उजाड र उराठ
बगरमा ढालिदिएँ ।

जन्मायौ, हुर्कायौ र बढायौ ।

हिंड्न् नसक्दा औंलामा समाएर
तातेताते गर्दै सहारा दियौ र हिड्न सिकायौ ।
आज तिमीलाई सहारा चाहिएको बेला
म चाहेर पनि तिम्रो सहारा बन्न सकेकी छैन ।

तिमी मेलापातबाट फर्कंदा
आफूले नखाइकन ल्याइदिएका
खनायो र बेडुलाले भरिएका
तिम्रा पटुकी हेर्न मेरा आँखाहरु
आतुर हुन्थे ।

त्यो त तिमीले पनि बुझेकी थियौ नि है आमा ?
एउटा सन्तानको मनोविज्ञान आमाले भन्दा बढी
कसले नै पो बुझ्छ र ?
‘अरुका घर जाने जात न हुन’
भन्थे जब कोहिले ।
‘मेरी छोरी नै मेरा छोरा हुन् ।’
भन्थ्यौ नि है आमा तिमीले ?

त्यही भएर होला तिमीले
मलाई ‘नानी’ नभनी ‘बाबु’ भनेर
बोलाउने गरेकी है आमा ?

‘समय आएपछि मेरी छोरी पनि
छोरा सरह काम गरेर देखाउँछे’ भनेकी थियौ ।
तर, तिम्रा सपना पूरा गर्न नपाउँदै
तिमीसँग बिछोडिनु परेको यो पलले
निको नहुने गरी रोगले गालेको छ आमा,
बिरामिलाई झै गालेको छ ।
साँच्चै कति निठुर रहेछ यो समय है आमा ?
तिमीले मलाई अन्माउन नपाई ,
म बेहुली बनेर नसजिदै,
मलाई तिमीदेखि
मेरो माइतीघरदेखि
मेरो जन्मघरदेखि
समयले अलग बनाइदियो ।
हो, आमा मलाई समयले अन्माइदियो
बेहुला बिना नै बेहुली बनाइदियो ।

ऊ त्यहाँ हेर त !
जसरी पोहोर दिदीको बिहे गर्दा
छुट्टिने बेलामा दिदी र हामी सबै रुँदा
जन्ती पक्षले ‘ल ल ढिला नगरौ
भरे घर पुग्दा अबेर हुन्छ’ भन्दै
आँसु ओभाउन दिएका थिएनन् नि
हो त्यसरी नै,
हेर त यी विमानस्थलका हरेक डिस्प्लेहरुले
मलाई पनि अत्ताइरहेका छन् ।
आमा ‘म गएपछि आफ्ना आँसु पुछे है ।’
म त तिमीले दिएको सहारा, साथ र
आशीर्वादले आँसु पुछ्न कसो नसकुँला र ?
जन्मभूमिमा नभए पनि
कर्मभूमी मै पनि सधैं
तिम्रो सपना आँखामा सजाउने छु ।
तितीले दिएका संस्कार म कहिल्यै भुल्दिन आमा ।
त्यो नयाँ संसारलाई कर्मघर ठानेर
आफ्ना कर्तव्य निभाउने छु ।
तिमिले सिकाएझै ।
जन्मघर र जन्मभूमि त मेरो मुटुमा छ ।
मेरा हरेक कोषकोष,
रक्तकोशिकामा रगत बनेर बगेको छ ।

तिमीले हरेस नखाइकन
तिम्रो आशामा भरोसा राखे है आमा ?
म एकदिन यो निर्दयी समयलाई
जितेर तिम्रै ‘बाब’ भएर फर्किने छु आमा ।

हो,
म चुरा,सिन्दूर, मङ्गलसुत्र र
लगनगाँठोको बन्धनमा त बाँधिएकी छैन,
केवल समयले मात्रै मलाई अन्माएको हो ।
तिमीबाट टाढा बनाएको हो ।
परिस्थितिले मलाई बेहुला बिना बेहुली बनाएको हो ।

 

पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका

 

यो कविता पनि पढ्नुहोस् । 

http://news-nepal.com/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%B9%E0%A5%8B%E0%A4%87%E0%A4%A8-%E0%A4%AD%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%8B%E0%A4%9F-%E0%A4%AE%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%A8/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org