ताजा समाचार

हिन्दू राष्ट्र र राजसंस्था हुनुपर्छ : नेता लोहनी

नुवाकोट, ८ वैशाख । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा । प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिदुरमा भएको बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दू धर्मावलम्बी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दू राष्ट्रको स्थापना अनिवार्य रहेको बताए ।
‘आफ्नो पार्टी सबै धर्मको सम्मान गरी ९४ प्रतिशत ओमकार परिवार रहेको हिन्दू धर्मावलम्बी रहेको नेपाली भूमिलाई हिन्दू राष्ट्र घोषणाका लागि अभियान चलाउनेछ,’ लोहनीले भने, ‘मन्दिरहरुको सहर, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भूमिमा धर्मको व्यापार बन्द गराउने काम बन्द गराउन मुलुक हिन्दू राष्ट्र हुनुपर्छ ।’

पार्टी एकतापछि राप्रपाबाट असन्तुष्ट भएर नयाँ पार्टी स्थापना गरेका लोहनीले हिन्दू धर्मसँगै पार्टीले राजसंस्था स्थापनामा आवाज उठाउने बताए । ‘मुलुकमा जाति, धर्म, भूगोल, भाषा अविश्वास र बिखण्डनले ठूलो खतरा रहेकाले सबैलाई समन्वय गर्न विघटित राजसंस्थाको पुनर्वहाली हुनुपर्छ,’ उनले भने, ‘लोकतन्त्रका लागि राजसंस्था समस्या होइन, यसलाई संविधानको परिधिमा राख्नुुपर्छ ।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट, सचिवालय प्रमुख भरतजङ्ग उप्रेती, सङ्गठन विभाग प्रमुख तारानाथ लुइँटेल, केन्द्रीय सदस्यहरु सुष्मा शर्मा, माधव भण्डारी, नानीमैयाँ आचार्य, श्यामकुमार केसी, झनक प्याकुरेललगायतले नयाँ शक्तिका रुपमा उदाएको पार्टीलाई भ्रष्टाचारमुक्त समाजको स्थापना र विकासप्रेमी पार्टीका रुपमा सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

नयाँ पार्टीका रुपमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीले स्थानीयतहको निर्वाचनमा चुनाव चिह्न हलो नपाए पनि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org