ताजा समाचार

तीन हजार पाँचसय ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ, १६ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ। ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो आएपछि गत पुसदेखि विभागले हरेक ट्याक्सीमा अनिवार्य रुपमा प्रिन्टर मेसिन जडान गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार २०७४ साल साउनको पहिलो हप्तासम्म कामसक्ने गरी तीव्रगतिमा काम भइरहेको विभागकी प्रवक्ता रोमी मानन्धरले जानकारी दिनुभयो ।

“विभागले शुक्रबारसम्म तीन हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको छ”–प्रवक्ता मानन्धरले भन्नुभयो । “विभागले हाल दैनिक ५० देखि १०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्दैआएको छ ।
ट्याक्सी सञ्चालकले प्रिन्टर मेसिन जडान गर्दा रु सात हजारदेखि रु नौ हजारसम्म खर्च लाग्ने गरेको छ । विभागले आम ट्याक्सी चालकलाई आफ्नो ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्न तथा बिल लिएर यात्रा गर्नका लागि जनचेतनामूलक कार्यक्रम समेत चलाएको छ ।

हाल काठमाडौँ उपत्यकामा आठ हजार ५०० को हाराहारीमा ट्याक्सी रहेको र तोकिएकै मितिमा प्रिन्टर मेसिन जडानको काम सकिने विभाग अन्तर्गत रहेको ट्याक्सी तथा ट्याम्पो इकाइका प्रमुख विकास ध्वजुले बताउनुभयो ।

यस्तै ट्याक्सीले आफ्नो पालामा मिटर जडान गरेको छ की छैन भनेर विभागका कर्मचारी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी र महानगरपालिकाका कर्मचारीले दिनहुँ छड्के जाँच गर्ने गरेको विभागले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org