ताजा समाचार

भारत लगिँदै गरेका दुई युवतीको माइती नेपालद्वारा उद्धार

काठमाडौं, १७ वैशाख । पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ ।

काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नंको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो ।

‘उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्धार गरेका छौँ’, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन् ।

अर्की उद्धार गरिएकी युवतीलाई समेत शेर्पा कपडा लगाउन भने पनि उनले नलगाएको सोधपुछमा बताएको उनले जानकारी दिइन् ।२२ वर्षीया युवतीलाई भारतको बाटो हुँदै दुबई र अर्की युवतीलाई किर्गिस्तान पठाउने भन्दै दलालले काठमाडौँबाट बसमार्फत पठाएका थिए ।

‘धार्मिक कपडा पहिराई युवतीलाई अवैध रुपमा भारततर्फ पठाउन लागेको अवस्थामा पहिलोपटक फेला पारेका छौँ,’ संयोजक भट्टले भनिन्, ‘यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो ।’

दलालहरुले युवतीलाई रोजगारीको प्रलोभन दिई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको उनले बताइन् ।युवतीलाई दलालले धार्मिक कपडा लगाएर गए सीमा क्षेत्रमा कसैले नरोक्ने भएकाले कपडा पहिराउन लगाएका थिए ।

कैयौँलाई यसैगरी सीमा नाका पार गरेका छौँ तिमीहरु पनि सीमा पार हुन्छौँ, सीमा पार भएपछि दिल्ली बसपार्कमा लग्न आउने बताएर पठाएको युवतीले बताएका छन् । सीमा नाकाबाट उद्धार गरिएका दुवै युवतीलाई माइती नेपालको महेन्द्रनगरस्थित आवद्यिक गृहमा राखिएको छ ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org