ताजा समाचार

अधिकारको प्राप्ति र संरक्षणका लागि मजदुर एकता आवश्यक

पोखरा, १८ वैशाख । विश्व मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अधिकारको प्राप्ति र संरक्षणका लागि मजदुर एकता आवश्यक भएकामा जोड दिइएको छ ।

आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको सुनिश्चितताका लागि १२८ वर्षअघि अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनलाई आधार मानी विश्व मजदुर दिवस मनाउन थालिए पनि अझै मजदुरहरू हक तथा अधिकारबाट वञ्चित भएको कार्यक्रमका वक्ताले बताए ।

अन्तक्र्रियामा नेपाल टे«ड युनियन काँग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्माले नेपालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको २००४ सालको मजदुर आन्दोलनपछि मात्र मजदुरका हक तथा अधिकारका विषय राज्यको प्राथमिकतामा पर्न थालेको जानकारी दिनुभयो ।

मजदुरका हक तथा अधिकारलाई सुनिश्चित गराउन अझै पनि धेरै काम बाँकी रहेको बताउँदै उहाँले त्यसका लागि देशका सम्पूर्ण मजदुर एकाकार बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल टे«ड युनियन काँग्रेस कास्कीकी अध्यक्ष कुलदेवी बरालले नेपालमा अझै पनि श्रम र पसिना बगाउने मजदुरले आफ्नो मजदुरीबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनीहरूले जीवन निर्वाहको सुनिश्चितताका साथै हक तथा अधिकारको प्राप्तिमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य कमल पौडेल ‘अथक’ले मजदुरका हक हितका विषय पटक पटक उठ्ने गरे पनि व्यावहारिकतामा अझै कार्यान्वयन हुन नसकेको वास्तविकतामा सम्पूर्ण मजदुर एकजुट बन्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस कास्कीका उपाध्यक्षद्वय घनश्याम रेग्मी र कमलबहादुर सापकोटा, सचिव केशवराज भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य चिनु गुरुङ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ प्रदेश नं ४ का संयोजक रामकुमार श्रेष्ठ, नेपाल यातायात मजदुर सङ्घ प्रदेश नं ४ का अध्यक्ष किरणबाबु पन्त, नेपाल ट्रेड युनियन काँग्रेसका महाधिवेशन प्रतिनिधि सुवास पौडेललगायतले अधिकारको प्राप्ति र कार्यान्वयनका लागि सबै मजदुर एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org