ताजा समाचार

काँग्रेस, माओवादी केन्द्र र एमालेद्वारा महानगरपालिकाका उम्मेदवार चयन

काठमाडौँ, १९ वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।

दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको छ ।

यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चाार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् ।

त्यस्तै नेकपा ‘माओवादी केन्द्र’ले पनि चार वटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ । जिल्ला समितिको सिफारिसमा आज बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले काठमाडौँका प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डङ्गोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुन । उपप्रमुखका प्रत्याशा पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन ।

यस्तै ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालका अनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।

ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन । उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील छिन् ।

यस्तै भरतपुर महानगरका प्रमुखमा रेणु दाहाललाई पतथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ । प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुन ।

यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपप्रमुख उम्मेदवार गोमा ढकाललाई अगाडि सारिएको छ ।

पोखरा लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुन । पोखराको परिचयका रुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पारेका उनी माओवादी केन्द्रका नेता हुन । यस्तै उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील छन् ।

त्यस्तैगरी  नेकपा ‘एमाले’ले काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका १० नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताबीच आज सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको परामर्शबाट काठमाडौँ महानगरपालिका प्रमुखमा विद्यासुन्दर शाक्यलाई चयन गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन । यस्तै ललितपुर महानगरपालिका प्रमुखमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उठाउने भएको छ । दुवै महानगरका उपप्रमुखमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्नेछ ।

यस्तै कागेश्वरी मनहरा नगरपालिका प्रमुखमा कृष्णहरि थापा र उपप्रमुखमा विन्दु सिंखडा, गोकर्णेश्वर प्रमुखमा पुण्य चौलागाईं र उपप्रमुखमा शान्ति श्रेष्ठ, टोखा प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोल, तारकेश्वर प्रमुखमा रामकृष्ण बोहोरा र उपप्रमुखमा भानु डोटेल, दक्षिणकाली प्रमुखमा प्रह्लाद कार्की र उपप्रमुखमा लिसा नकर्मी, बूढानीलकण्ठ प्रमुखमा उद्धव खरेल र उपप्रमुखमा रमा राई, नागार्जुन प्रमुखमा कृष्णहरि खत्री र उपप्रमुखमा सुशीला अधिकारी, शङ्खरापुर प्रमुखमा सुवर्ण श्रेष्ठ र उपप्रमुखमा शुक्रलक्ष्मी श्रेष्ठ, चन्द्रागिरि प्रमुखमा शशि शर्मा अर्याल र उपप्रमुखमा मीरा आचार्य महर्जन तथा कीर्तिपुर प्रमुखमा रमेश महर्जन र उपप्रमुखमा सरस्वती खड्का उम्मेदवार बन्नुभएको छ ।

एमालेका काठमाडौँ जिल्ला इन्चार्ज सावित्रा भुसालले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा पार्टीका शीर्ष नेताहरुले केहीबेरपछि निर्णय दिने वताइन् ।

 

यो पनि पढ्नुस् । 

http://news-nepal.com/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A5%81%E0%A4%96-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%A6%E0%A4%B2%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%89%E0%A4%AE%E0%A5%8D%E0%A4%AE/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org