ताजा समाचार

मानव बेचबिखनविरुद्ध सुझाव सङ्कलन सुरु

काठमाडौँ, २१ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा मानव बेचबिखन कार्य न्यूनीकरण गर्न समाजका विभिन्न तह तथा क्षेत्रका प्रतिनिधिसँग बुधबारदेखि सुझाव सङ्कलन सुरु गरेको छ ।

देशका विभिन्न क्षेत्रमा मानव बेचबिखनको अवस्था नजानिँदो तरिकाले वृद्धि हुन थालेपछि आयोगले यस क्षेत्रमा सुझाव सङ्कलन गर्न थालेको छ । करिब एक महिनाको अवधिसम्म जारी रहने उक्त कार्यक्रममा प्रशासक तथा वकिलसँग पनि परामर्श लिइनेछ ।

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका प्रवक्ता मोहना अन्सारीले विभिन्न सञ्चारमाध्यममा नयाँ तरिकाले मानव बेचबिखनमा देखिएको जोखिमका समाचारले त्यहाँ भएका कमजोरीलाई समेटेर प्रतिवेदन बनाउने र नीतिनिर्माणमा सहयोग गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

विज्ञ प्रा डा गोविन्द सुवेदीले मनोरञ्जन क्षेत्र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयअन्तर्गत मानव बेचबिखनविरुद्धको राष्ट्रिय समिति तथा जिल्ला समितिको निष्क्रियता देखिएको बताउँदै सरकारले श्रमका लागि विदेश जाने कामदारको सुरक्षाका लागि विभिन्न सात मुलुकमा सम्झौता गरेको भए पनि त्यहाँ अनुगमन हुन नसकेको बताउनुभयो ।

दिगो विकासका लागि सञ्चार क्षेत्रको परिचालन नामक संस्थाका अध्यक्ष रुपा शर्मा (नेहा), जनअधिकार मञ्चका अध्यक्ष शतिश शर्मा, सामाजिक रुपान्तरणका लागि युवा नेपालका संयोजक भिक्ट्री थापा, विश्वास नेपालका अध्यक्ष तारा भण्डारीलगायतले वैदेशिक रोजगारीका नाममा जाने श्रमिक बेचबिखनको जोखिममा रहेको बताउँदै मनोरञ्जन क्षेत्रमा कार्यरत ससाना बालबालिका पनि बेचबिखनमा परेकाले उनीहरुको मानवअधिकार संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org