ताजा समाचार

कथा : मेरो प्रेम यात्रा

मैले चलचित्रमा देखेकी थिएँ या भनौं कथामा पढेकी थिएँ । कोही कतै अकस्मात् भेट भएको र एकर्कामा प्रेममा परेको !

म सोच्नै सक्दिन। कुनै जादुगरले देखाएको जादु जस्तै, कुनै डाइरेक्टरले बनाएको काल्पनीक चलचित्रमा झै म थाहा नै नपार्इ उसको प्रेममा फसेकी थिएँ र ऊ पनि ।

२०१५,५ अप्रिलको कुरा हो । हामी सामुद्रिक यात्रा पूरा गरेर अमेरिका फर्कन दुवै उडानको लागि ओमनको एयरपोर्टमा थियौं । म चर्चको फादरको सहयोगी बनेर आएकी थिएँ । हाम्रो उडान ढिलो हुनाले म निकै निराश भएकी थिएँ । त्यही समयमा मेरो आँखा केही पर बसेको एक युवकमा गएर अडियो । कालेकाले, झुस्स दाह्री भएको इनोसेन्ट फेस ! कस्सम, इनोसेन्ट फेस ! जहाँ अलिअलि मलाई झै निराशाले छोपेको थियो । सायद उसको पनि फ्लाइट ढिलो भएको होला । मैले अनुमान लगाएँ । उसमा अडिएका मेरा आँखाहरु कहीं कतै चल्नै मानेनन् । म उसमै हराएछु ।

उसले मलाई हेरेर मुस्कुरायो । उसको मुस्कानले मेरा निराशाहरु विलाए । समय अर्घिदै थियो । ऊ र म बीच छिनमा आँखा  जुधाजुद र हाँसो भएपछि म त्यहाँबाट जुरुक्क उठेर रेस्टरुमतिर लागें । मुख धोएर फ्रेश भएँ । अनि उसैको नजिक आएर बसें ।

त्यसपछि सुरु भयो परिचयको कुरा । परिचय गरियो । मैले थाहा पाएँ उसको नाम मोहन रहेछ। आफ्नो बिदा मनाउन घर गएको । नेपालबाट कामको लागि सिधै अबुदाबी जानुपर्ने । टिकटमा मेनेजरको भुलवस त्यहाँ ट्रान्जिटमा रहेछ । उफ ! कस्तो संयोग, उसको र मेरो भेट हुनु । उसको गेट नम्बर  ५ रहेछ तर ६ मा आएर बस्यो ।

मैले सामुन्द्रिक यात्रा गरेर फर्केको कुरा सुनाएँ । यात्राका अनुभव र फोटाहरु उसलाई देखाएँ।सुनाएँ ।  उसले एक टहकले हेरिरह्यो । सुनिरह्यो । त्यसैबीचमा उसले घुम्नका लागि नेपाल एकदम राम्रो भएको बतायो । अघिसम्म निराश, लामो लागेको समय कति छिटो कटेछ पत्तै भएन । फ्लाइटको समय भयो । ऊसँग छुट्नुपर्ने भयो । तर, मलाई छुट्न मनै थिएन ।
हामीदे मित्रता कायम राख्ने सर्तमा आआफ्ना मोबाइल नम्बर र फेसबुक आइडी आदान–प्रदान गरेऔ। घर आएपछि फेसबुक,भाइबर,व्हाट्सअप उपलब्ध भएका सबैमा हामी देखिन थाल्यौं । जहाँ जतिबेला जुन सेवा उपलब्ध हुन्थ्यो, हामी कुरा गरी हाल्थ्यौं ।

स्काइपमा भिडियो कल गर्ने हाम्रो दैनिकी जस्तै भयो । एकले अर्कालाई हेर्दै खाना बनाएको,खाएको, हाँसेको अझ कयौं पटक त कुरा गर्दागर्दै कोही निदायो भने त्यो पनि हेरेर बस्थेऔ । साँच्चै निदाउँदा त ऊ झन राम्रा लाग्थ्यो । प्यारो लाग्थ्यो मलाई ।

 

एउटा एयरपोर्टमा भेटिएको केटासँग फेरि पनि भेट होला भनेर मैले कल्पना पनि गरेकी थिइन । तर, बिस्तारै मलाई मोहनदेखि टाढा बस्नु परेकोले पिरोलेको थियो । म जसरी पनि मोहनलार्इ आफूसँगै भएको हेर्न चाहन्थे । स्काइपमा हेर्नुपरेका हरेक पलपललाई म आँखा अगाडि नै नियाल्न चाहान्थे।
मैले कयौं पटक मोहनलाई अमेरिका आउन आग्रह गरें। अमेरिकाको  भिषा लाग्नु त्यती सजिलो थिएन । हामी दुर्इजनालाई नै एक हुनु थियो । मोहन यता आउने सम्भावना नभएपछि झण्डै एक वर्षको अनलाइन डेटिङपछि म उसलाई भेट्न नेपाल जाने निर्णय गरें।

हाम्रो धैर्यताको बाध काठमाडौंमा भेटिएर टुट्यो। त्यसपछि हामी बारम्बार भेट्न थाल्यौं । भेटमा अनेक कुरा हुन्थे ।  हामीलेसँगै पशुपतिनाथ मन्दिर, स्वयम्भु, ठमेल लगायत थुप्रै ठाउँहरु घुम्यौ। हामी पोखर पनि गयौ । माछापुच्छ्रे हिमालको छाँयामा फेवातालमा बोटिङ गरेर तालबाराही मन्दिरको पनि दर्शन गरेऔं । पोखरामा रहेका सबै गुफाहरु घुम्यौ । हामीले केही ठाउँमा ट्रेकिङ पनि गर्यौ । पोखरा त साँच्चिकैको पोखरा नै रहेछ । आहा ! कस्तो सुन्दर   ।

म संसारको सबैभन्दा प्यारो मान्छसँग संसारकै सबैभन्दा राम्रो ठाउँ घुमिरहेछु भन्ने आभास मलाई हुन्थ्यो । तर, त्यो भन्दा पनि खुसी त म दुई घण्टा उकाली पैदल हिंडेर मोहनको घरमा गएर उसकी आमा र हजुरआमासँग मिलेर खाना पकाएर खुवाउँदा लागेको थियो। त्यहाँका मानिसहरुको सादा जीवनशैली मलाई अति नै मन प¥यो । मोहनको घरमा कफी,तरकारी वारी, खेत र भैंसी पनि थियो । हामीले विहानै उठेर सूर्यदय पनि हेरेका थियौ । सुनौलो घामसँगै हिमालमा छरिएका किरण अनि मोति झै टल्केको ताल ओहो ! कुरै नगरौ। जति समय मैले त्यहाँ बिताएँ, हरेक पल मेरा लागि अविस्मरणीय छन् ।

लेकसाइडमा आगोमा पोलेको उखु खाएर शिवरात्री  मनाएकी म, रङहरुको पर्व होलीको रङ्ग खेलेर मन नहुँदानहुँदै पनि  मोहनसँग बिछोडिएर अमेरिका फर्कें । र,मोहनको बाटो हेरेर बसे। सुरुमा त म उसलाई छोडेर आउन मानेकी थिइँन। तर, हामी फेरि भेट्ने मिति तय गरेर मात्र फर्किएँ। झन्डै एक बर्षको पर्खाइपछि मोहनको भिषा एपरुभ्ड भयो । र, मेरो प्रतिक्षाको घडी समाप्त भयो।

आज म ‘Heather Mas check बाट ‘Heather Parajuli’ भएकी छु । हातमा उसको नामको चुरा अनि सिउँदोमा उसको नामको सिन्दूर लगाउँछु । मेरो जीवनमा मलाई मोहनसँग भेट गराईदिनु भएकोमा भगवानलाई धन्यवाद दिन चाहन्छु । र,मोहनलाई जन्मदिने आमालाई हृदयदेखि नै माया व्यक्त गर्न चाहन्छु । र, म छिट्टै भेट्न आउने वाचा गर्दछु । ‘नेपाल वि आर मिसिङ यु’…।

पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका

 

यो पनि पढ्नुस् । 

 

http://news-nepal.com/%E0%A4%95%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%BE-%E0%A4%85%E0%A4%AC-%E0%A4%AE-%E0%A4%B0-%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B-%E0%A4%AE%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8-2/

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org