ताजा समाचार

बाग्लुङमा उम्मेदवारविनै भोट माग्दै हिडे माओवादी केन्द्रका कार्यकर्ता

बाग्लुङ, २८ बैशाख । स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुमुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्ता लिए ।

उनीहरुको उम्मेदवारी फिर्तासँगै माओवादी केन्द्रका तर्फबाट नगरपालिका प्रमुख र उपप्रमुखको पद खाली छ । आयोगले निर्वाचन चिह्नसमेत वडा अध्यक्ष र सदस्यलाई मात्र प्रदान गर्यो । निर्वाचनको माहोल तातेसँगै माओवादी केन्द्र भने प्रमुख र उपप्रमुखका खाली पदमा मत माग्दै घरदैलोमा छ ।

पार्टीको आधिकारिक निर्णयविना उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्र जिल्ला कमिटिका संयोजक चन्द्रबहादुर बुढा सागर बताउँछन् । तर, उम्मेदवार बुढा र श्रेष्ठले भने नेताहरुको सल्लाह र निर्देशनमा उम्मेदवारी फिर्ता लिएको दाबी गर्छन् ।

उम्मेदवारी फिर्ता लिएपछि माओवादी पंक्तिबाट चर्को विरोध भइरहेको छ । नेतादेखि कार्यकर्तासम्मको विरोधलाई ध्यानमा राखेर माओवादी नगर कमिटिले आफ्नै चिह्नमा मत दिन मतदातालाई आग्रह गरेको आजको राजधानी दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org