ताजा समाचार

पर्वतमा एमाले कार्यकर्ताद्धारा काँग्रेस कार्यकर्तामाथि धारिलो हतियार प्रहार, ५ जना घाइते

पर्वत, २८ बैशाख । पर्वतमा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पकुवा भन्ने स्थानमा एमालेका कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरेर आक्रमण गरेका छन् ।

एमालेका समर्थकबाट बुधबार आफ्ना कार्यकर्तामाथि आक्रमण भएको कांग्रेसले आरोप लगाएको छ । कुश्माबाट पुगेका एमालेका हतियारधारी कार्यकर्ताहरूले कांग्रेस उम्मेदवारहरूको प्रचार–प्रसारमा प्रयोग भएको गाडीमाथी आक्रमण गरेका थिए । आक्रमणबाट गाडीको सिसा फुटेका छन् ।

एमालेका कार्यकर्ताले हेल्मट र धारिलो हतियार प्रहारबाट कांग्रेस कार्यकर्ता जनक जैसी, अनुज मल्ल, अजय केसी लगायत ५ जना घाइते भएको कांग्रेस पर्वतले जनाएको छ । कांग्रेसका उम्मेदवारहरूको जित सुनिश्चित देखेपछि आत्तिएका एमालेका कार्यकर्ताहरू सांघातिक आक्रमणमा उत्रिएको कांग्रेसको आरोप छ ।

‘एमालेले ‘गुण्डा’ प्रयोग गरेर कांग्रेसका कार्यकर्तामाथी आक्रमण भएको छ’, नेपाली कांग्रेस पकुवाका वडा अध्यक्षका उम्मेदवार मीनवहादुर वस्यालले आरोप लगाए ।

एमालेका समर्थकद्वारा कांग्रेस कार्यकर्तामाथी आक्रमण भएको बारेमा उजुरी आएपछि पर्वतका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षकसहितको सुरक्षा टोली घटनास्थलमा पुगेको थियो ।

उता, एमालेको पर्वत जिल्ला कमिटीले कांग्रेसले लगाएको आरोपको खण्डन गरेको छ । एमालेका स्थानीय नेताहरूका कारण पहिला कांग्रेसका उम्मेदवारसहितका कार्यकर्ताले आक्रमण गरेपछि आफूहरूले त्यसको बचाउ गरेको दाबी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org