ताजा समाचार

प्रचण्ड र देउवा बुद्ध एयरको जहाजमा जाँदा ओली यति एयर चढेर चितवन पुगे

चितवन, २८ बैशाख । प्रमुख तीन दलका शीर्ष नेताहरु आज चितवन गएका छन् । सत्तारुढ नेपाली काँग्रेस सभापति र प्रधानमन्त्रीसँग एमाले अध्यक्ष पनि चितवन पुगेका छन् । स्थानीय तह चुनावमा मतदाताहरुलाई सम्बोधन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु चितवन पुगेका हुन् ।

आ-आफ्नो उम्मेदवारलाई हौसलासहित कार्यकर्तालाई थप उत्साहित गराउन तीनवटै पार्टीका शीर्ष नेता चितवन पुगेका हुन् । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभामा सहभागी हुन चितवन पुगेका हुन् ।

प्रचण्ड र देउवा दुवै जना बुद्ध एयरको जहाज चढेर आएका थिए भने ओली चाँही यति एयरलाइन्सको जहाज चढेर चितवन पुगेका हुन् । एउटै जहाज चढेर चितवन ओर्लिएका देउवा र प्रचण्डले चुनावी तालमेलको सन्देश दिन खोजेको नेताहरु बताउँछन् । चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् ।

एमाले भने एक्लै चुनावी मैदानमा छ । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार छिन् । एमालेको तर्फबाट देवी ज्ञवाली मेयर पदको उम्मेदवार बनेका छन् । तीनवटै पार्टीका नेताहरुले चितवनको भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । निर्वाचनलाई लक्षित चुनावी सभामा कांग्रेस, एमाले र माओवादीले शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।

कांग्रेस र माओवादीको संयुक्त चुनावी सभा भरतपुरको केन्द्रीय बस टर्मिनलमा र एमालेको चुनावी सभा नारायणगढको पोखरा बसपार्कमा आयोजना गरिएको छ । शीर्ष नेताहरु नै उपस्थित भएपछि चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवनको सभालाई सम्बोधन गरेपछि देउवा लम्जुङ जाने कार्यक्रम छ भने प्रचण्ड काठमाडौं फर्किने छन् । यसैगरी ओलीले रत्ननगर, पर्सा खैरहनी र राप्तीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org