ताजा समाचार

यसकारण पो रहेछ मतदानको दिन गाडी चल्न नदिईने

काठमाडौं, ३० बैशाख । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ। यसपटक मतदानको दिन बिहान पाँच बजेदेखि बेलुका सात बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुनेछन् । तर मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।

‘मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने हाम्रोमा परम्परा नै बनेको छ। विगतमा यो स्वाभाविक पनि थियो किनभने एउटा मतदाताले धेरै ठाउँ पुगेर मत हाल्नसक्ने सम्भावना रहन्थ्यो’, केही समयअघि राजनीतिमा सक्रिय खनाल भन्छन्, ‘मतदाता परिचयपत्र लागू भइसकेको अवस्थामा अब सवारीसाधन निषेध गर्नु आवश्यक छैन।’

विदेशमा मतदानका दिन बिदासमेत दिन छाडिएको उल्लेख गर्दै उनले नेपालले पनि अब यस्ता कुरामा ध्यान दिनुपर्ने बताए । ‘विदेशमा हुने अभ्यासबाट पनि हामीले राम्रा कुरा सिक्नुपर्छ। निर्वाचनको व्यवस्थापनलाई हाउगुजी बनाउनु हुँदैन’, उनले भने ।

खनालको भनाइमा पूर्वराजदूत जयराज आचार्य पनि सहमति जनाउँछन् । आचार्य भन्छन्, ‘सुरक्षा व्यवस्थापनका दृष्टिले सवारीसाधन ठप्प पार्न लागिएको हो भने यसबारे पुनर्विचार गर्नुपर्छ। हामीले सर्वसाधारणको आवागमन सहज बनाउनुपर्छ। बरु सबैलाई आवतजावत सजिलो बनाइदिनुपर्छ।’ आचार्यले आफू जापान र थाइल्यान्ड बस्दा मतदानको दिन सवारी सञ्चालनमा कुनै रोकटोक नभएको अनुभव सुनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org