ताजा समाचार

सात ठाउँमा छाप लगाउनुपर्ने भएपछि भक्तपुरका मतदाता भन्छन्, ‘भोट हाल्नै गाह्रो छ’


भक्तपुर, ३० बैशाख । स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनुपर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छ । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योल सिर्जना भएको मतदाताले गुनासो गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन गरेर मतदान गर्न स्वयम्सेवक पठाए पनि स्वयम्सेवकले मतदान गर्न सिकाउने भन्दा पनि मतदानको पोस्टर टाँस्न मै मात्र सीमित राखेपछि मतदातालाई भोट हाल्न अन्योल सिर्जना भएको हो । बिहीबारदेखि परिचयपत्र वितरण गर्ने मतदानस्थल मै मतदान गर्न सिकाउने भने पनि प्रभावकारी नभएपछि भोट हाल्ने दिन नजिक आए पनि मतदाता भने अन्योलमा परेका हुन् ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीका रामकला श्रेष्ठले सात ठाउँमा भोट हाल्नुपर्छ भनेकाले अन्योल भएको र भोट हाल्नै नआउँला भन्ने लागेको बताइन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका सारदा खड्काले भोटै हाल्न नआउने बताइन् । उनले भनिन्, “पहिलाजस्तो एक वा दुई ठाउँमा भोट हालेर हुँदैन रहेछ, यस पटक सात ठाउँमा भोट हाल्नुपर्ने रहेछ, फरकफरक चिह्नमा भोट हाल्नु पर्‍यो भने एउटालाई हालेको भोट अर्कैलाई पर्ला भन्ने डर छ ।”

यसपटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलो भएकाले मत कसरी राख्ने भन्ने विषयमा राम्ररी जानकारी नहुँदा आफ्नो मत बदर होला भन्ने त्रास रहेको उनले बताइन् । जिल्लाका ज्येष्ठ नागरिक र अशिक्षित मतदातालाई यसपटकको चुनावमा मतदान गर्न समस्या परेको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले विगतका निर्वाचनको तुलनमा यस वर्ष मत बढी बदर हुने आशङ्का भएको बताए ।विगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्योभन्दा बढी सम्भावना रहेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org