ताजा समाचार

स्थानीय तह चुनावः ३४ जिल्लाका २८३ स्थानिय तहमा एकसाथ मतदान सुरु


काठमाडौं, ३१ बैशाख । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ ।

३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक प्रणाली परिवर्तनका लागि देशमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा स्थानीय तहको चुनाव हुन लागेको हो ।

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ ।

उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर पनि मतदान गर्न सक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुन पनि आयोगले मतदातालाई आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org