ताजा समाचार

प्रचण्डले एकसाताभित्र प्रधानमन्त्री पदबाट राजीनामा दिने, देउवा प्रधानमन्त्री बन्ने

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाताभित्र राजीनामा दिने भएका छन् । मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्टामा ‘प्रचण्ड’ले एकसाताभित्र राजीनामा दिने बताएका हुन् ।

भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने उल्लेख गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’

कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ । भेटवार्तामा राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री दाहाललाई बधाइ दिएका थिए । उनीहरूले दोसो चरणको चुनावका लागि वातावरण बनाउन र संविधान संशोधनका लागि आग्रह गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधनका लागि संख्या रहको भए पनि राप्रपाले के गर्छ भन्नेमा आफूले सो पार्टीसँग जान्न चाहेको पनि बताएका थिए । ‘संविधान संशोधनमा राप्रपाले नीतिगत रुपमा सहमति जनाएको छ’, प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै राजपाका नेता यादवले भने, ‘प्रधानमन्त्रीज्यूले सो विषयमा राप्रपासँग पनि परामर्श गर्ने बताउनु भएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org