ताजा समाचार

एमाले भन्छन्, ‘भरतपुरमा पुनः मतदान दिवा सपना हो’ मतगणनाको माग गर्दै आन्दोलन


चितवन, १६ जेठ । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले विरोध प्रदर्शन सुरु गरेको छ ।  आइतबार राति मतपत्र च्यातिएपछि रोकिएको मतगणना फेरि सुरु गर्न माग गर्दै एमाले चितवनले मतगणनास्थल भरतपुरको कवर्डहल बाहिर मंगलबार बिहानदेखि धर्नासहित विरोध प्रदर्शन सुरु गरेको हो ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर उम्मेद्वार देवी ज्ञवाली, उपमेयर उम्मेद्वार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् । रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै बिहान नारायणगढको पुलचोकबाट मतगणनास्थलसम्म एमालेले विरोध याली गरेको थियो । धर्ना सुरु हुनुअघि भएको सभामा एमाले चितवनका अध्यक्ष पोखरेलले मतगणना तत्काल सुरु गर्नुपर्ने र कसैले फेरि मतदान गर्ने सपना देखेको भए त्यो दिवा सपना मात्रै हुने चेतावनी दिए ।

आइतबार राति वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादीका एजेन्टले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थियो । त्यसबेला एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि थिए । त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो ।

वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो । उता नेपाली काँग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्न माग गरेका छन् । उनीहरुले सोमबार छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै पुनः मतदान गर्न माग गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org