ताजा समाचार

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्दा ठूलै नेतालाई समेत जरिवाना तिराएपछि

काठमाडौं, १७ जेठ । सवारी दुर्घटनाको प्रमुख कारक तत्व जथाभाबी बाटो काट्ने बटुवा भएपनि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मंगलबारदेखि कारवाही अभियान थालेको छ । ट्राफिकले जेब्रा क्रसिङ र आकाशेपुल बाहेकका स्थानबाट बाटो काट्ने र सडकमा हिंड्नेलाई पक्राउ गर्दै २ सय जरिवाना लिँदै छाड्ने गरेको छ । मंगलबार मात्र ३० हजार पक्राउ परेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले केही समय पहिलेदेखि जथाभावी बाटो काट्नेलाई जनचेतना दिँदै आएको थियो । जेठ १६ गतेबाट जथाभावी बाटो काट्नेलाई धमाधम पक्राउ गर्दै जरिवना तिराउँदै छाडियो । पैसा नहुनेलाई ३ घण्टा सम्म उभ्याएर ट्राफिक जनचेतना सम्बन्धि कक्षा नै दिईरहेको छ । बुधबार बिहानैदेखि पनि उक्त अभियान जारी छ । अभियानकै सिलसिलामा बानेश्वरमा ट्राफिक प्रहरीले जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीलाई पक्राउ गरेर जरिवाना तिराएको छ ।

बिहान करिब साढे नौ बजेतिर भण्डारी बानेश्वरको कृष्ण सदन अगाडिबाट सडक पार गरेर एभरेष्ट बैंकतर्फ जान खौज्दै थिए । त्यसैक्रममा प्रहरीले उनलाई पक्राउ गयो । सुरुमा भण्डारीले प्रतिवाद गरे । ‘पूर्वसूचना बिनै यस्तो गर्न पाइन्छ ?’, उनी कड्किए । प्रहरीले सञ्चार माध्यममार्फत र सार्वजनिक स्थानमा सूचना दिएरै अभियान थालिएको जवाफ दिएर दुई सय रुपैयाँ मागे । भण्डारीले सयका दुईवटा नोट झिकेर दिए र बाटो लागे । तर, प्रहरीले फेरि रोके । हेलो, हेलो चिट लिएर जानुस् । भण्डारी फर्किए र चिट लिएर एभरेष्ट होलटको अगाडि पट्टिबाट बबरमहलतिर लागे ।

भण्डारीले यतिसम्म चाहिं इमान्दारिता देखाए कि आफू नेता भएको उनले बताएनन् । दलका नेता भनेको भए सायद प्रहरीले उनलाई छाडिदिन्थे होला । तर, उनले आफू नेता भएकाले कारबाही गर्न नमिल्ने बताएनन्, बरु दुई सय बुझाएर बाटो लागे । यस्तै अन्य नेताहरु पनि यसरी नै कारबाहीमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org