ताजा समाचार

डोटीमा नेपालीको अपहरण गर्दा पक्राउ परेका भारतीय प्रहरीलाई बिनाकारबाही छोडिदैं

डोटी, १९ जेठ । डोटीमा नेपाली अपहरण घटनामा पक्राउ परेका भारतीय प्रहरीको टोलीलाई सर्तसहित छाड्ने तयारी भएको छ । भारतीय प्रहरीका डिएसपीसहितको टोलीलाई छोडे भारतले कर्नाटकमा लुटपाटको आरोपमा जेल परेका तीनजना नेपालीलाई रिहा गर्नुपर्ने सर्त राखेपछि उनीहरुलाई छोड्ने तयारी भएको हो ।

अहिले प्रहरी टोलीलाई रिहा गर्न कागजात मिलाउने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले अपहरणको शैलीमा भारतीय प्रहरी चढेर आएको गाडीलाई भने छोडिसकेको छ । बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका ८ मा लालबहादुर आउजीलाई अपरण गर्न खोज्ने भारतीय प्रहरीको समूहलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले नियन्त्रणमा लिएको थियो ।

भारतीय प्रहरीका डिएसपी नागराजको कमाण्डमा आएको उक्त प्रहरी टोलीले आउजीलाई मध्य राति उनकै घरमा कुटपिट गर्नुको साथै हात तथा मुखमा पट्टी बाँधी आफूले ल्याएको गाडीमा लैजान खोजेका थिए । भारतीय प्रहरीको अपहरणमा परेका आउजी अपहरणमुक्त भए पनि उनलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार भारतमा मजदुरी गर्दै आएका लडागडाकै प्रसाद पार्की र अन्य तीन जनासहित भारतीय प्रहरीले लालबहादुरलाई घरबाट राति २ बजे अपहरणको प्रयास गरेका थिए । स्थानीय बासिन्दाका अनुसार प्रसादले मध्यरातमा लालबहादुरको घरको ढोका ढकढक्याएपछि लालबहादुरकी श्रीमतीले को हो भनी सोध्दा प्रसादले आफ्नो परिचय दिएपछि ढोका खोल्नासाथ भारतीय प्रहरीको समूह भित्र पसेर लालबहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगेका थिए ।

घटनाको बारेमा स्थानीय बासिन्दाले तत्काल इलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । लडागडा प्रहरीले गाडी रोक्न नसकेपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरेका थियो । जिल्ला प्रहरी कार्यालय डोटीको हतियार सहितको टोलीले अपहरणकारी, अपहरित व्यक्ति र अपहरणमा प्रयोग गरिएको गाडी राति नै नियन्त्रणमा लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org