ताजा समाचार

भरतपुर १९ मा काँग्रेसलाई माओवादीले सघाउने

चितवन, २१ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले सघाउने सहमति भएको छ ।

दुई दलको आज बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वाधिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए ।

सो वडामा काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहेका छन् । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ ।

गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगन भएको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ‘ख’ बमोजिक मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यससहित वडा नम्बर २० को मात्र मतगणना गर्न बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org