ताजा समाचार

५ अर्बको बजेटमा ‘नमुना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको घोषणा (भिडियोसहित)

काठमाडौं, २२ जेठ । धुर्मुस सुन्तलीले ५ अर्ब बजेटमा नमुना नेपाल बनाउने महत्वकांक्षी योजना अघि सारेका छन् । ३ वटा नमुना बस्ती निर्माण गरेर चर्चामा आएका धुर्मस सुन्तलीले नमुना नेपाल बनाउने महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको हुन् । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा धुर्मुस सुन्तलीले फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमुना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।

हिमाल, पहाड र तरार्इलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न धुर्मुसले सबैसँग आग्रह गरे । उनले भने, हामीलाई जग्गा उपलब्ध भएकै दिन हामी शिलन्यास गर्नेछौ । शिलन्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्नेछौ ।’ ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर यो प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो ।

उनले सरकारको साथको अपेक्षा गर्दै भने, ‘हामीलाई पूर्ण आशा छ, सरकारबाट पनि यो प्रोजेक्ट निर्माणमा साथ मिल्नेछ । यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्छौ ।’ सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे ।

उनले भने, ‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’ ‘नमुना नेपाल’मा हिमाल, पहाड र तराइका आर्थिक अवस्था कमजोर भएका जनताको पहिचान गरि उनीहरुलाई राखिने उनको भनाई छ ।

साथमा, उनले नेपाल आएर सबै स्थान घुम्न नसकेका पर्यटकले पनि ‘नमुना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल घुमेको अनुभव गर्ने सुनाए । ‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org