ताजा समाचार

पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ पक्षद्धारा ऋण उपलब्ध

काठमाडौं, २३ जेठ । राष्ट्रिय गौरवको आयोजनाकोरुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ । ऋणदाता निकाय चिनियाँ आयात–निर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु गर्न सहज भएको हो ।

सो बैंकले अर्थ मन्त्रालयलाई एक पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्थ मन्त्रालयका उपसचिव युवराज पाण्डेले राससलाई जानकारी दिए । विमानस्थल निर्माणको अब सबै प्रक्रिया पूरा भएको छ ।

मन्त्रालयकाअनुसार रु २१ अर्ब ४७ करोड लागत रहेको सो आयोजनाको यही जेठ १७ गते बुधबार ऋण स्वीकृत भएर आएको हो । त्यसमा ७५ प्रतिशत ऋण हो भने २५ प्रतिशत अनुदान हो । उक्त रकम अर्थ मन्त्रालयले चीनको आयातनिर्यात बैंकसँग दुई प्रतिशत ब्याज दरमा लिएको हो ।

विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ऋण अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले अब भौतिक पूर्वाधार निर्माण प्रक्रियाले गतिलिने विश्वास लिइएको छ ।

विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हालसम्म मुआब्जा वितरणसहित रु पाँच अर्ब भइसकेको छ । चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले सो विमानस्थल निर्माण गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org