ताजा समाचार

एमाले टिकट विवाद बढेपछि ओली पक्षका कार्यकर्ताद्धारा पार्टी कार्यालय आगजनी

उदयपुर, २३ जेठ । उमेदवारको बिषयलाई लिएर नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गरेका छन् । उदयपुरको चौदण्डी नगरपालिका भित्र चरम विवाद सृजना भएपछि कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गर्नुका सँगै कालोझण्डा र तालाबन्दी गरेका छन् । नगर कमिटीले सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उमेदवार बनाएको भन्दै आक्रोशित कार्याकर्ताले आज एमाले नगर कमिटीको पार्टी कार्यालय तोडफोड गर्नुकासाथै पार्टी कार्यालयमा कालोझण्डा राखेका छन् ।

कार्यकर्ताहरुले चौदण्डी नगर कमिटीको कार्यालय बेल्टार ६ मा तालाबन्दी गर्नुका साथै पार्टी कार्यालय भित्र रहेको दुई थान कुर्सी जलाई कालोझण्डा गाडेका छन् । तालाबन्दी पछि कार्यकर्ताहरुले बेल्टार बजारमा प्रर्दशन गरेका छन् । आम कार्यकर्ताको भावना विपरित प्रदेश कमिटीले निर्णय गरेको भन्दै आक्रोशित कार्यकर्ताले निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने र उमेदवारलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने अडान राखेका छन् ।

हुलहुज्जतकासाथ पार्टी कार्यालयमा पुगेका आक्रोशित कार्यकर्ताले कार्यालय तोडफोड गरी कुर्सी वाहिर ल्याएर जलाएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । कुर्सी जलाउन थालेपछि भिड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । इन्सपेक्टर चौधरीले पार्टी भित्रको आन्तरिक विवादका बिषयलाई लिएर कालोझण्डा राख्ने र तालाबन्दी लगाउने काम भएको बताए ।

पार्टीको केन्द्रीय सर्कुल वमोजिम नगर कमिटीले कुमारसिंह कार्की, राजेन्द्र कटुवाल, शम्भु पौडे्ल र कालु लामालाई सिफारिस गरेको थियो । सिफारिसमा परेका जो उम्मेदवार भएपनि एक अर्काले सघाउने भन्ने उनीहरुबीच समझदारी बनेको थियो । चार जनामा जसलाई टिकट दिएपनि विवाद सृजना हुने र अन्तरघात हुने सम्भावना बढेको भन्दै १ नम्बर प्रदेश कमिटीले पार्टीका जिल्ला कमिटी सदस्य नरेन्द्र राउतलाई टिकट दिएपछि विवाद सृजना भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org