ताजा समाचार

पर्सामा म्यादी प्रहरी जथाभावी रकम उठाउन थालेपछि सर्वसाधारण आतंकित

वीरगञ्ज, २३ जेठ । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभावी रकम उठाउन थालेपछि पर्सामा सर्वसाधारण आतंकित भएका छन् । नेपाल–भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा गाली–गलौज गर्ने, अभद्र व्यवहार गर्ने, सामान खोस्ने, मागअनुसारको रकम लिने गरेको पीडित उपभोक्ताको गुनासो छ ।

जिल्लामा एक हजार ४९२ म्यादी प्रहरी छन् । पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले यसबारेमा केही थाहा नभएको तर वास्तविकता पत्ता लगाइने स्पस्ट गरे । देशमा सबभन्दा बढी राजस्व दिने मानिएको वीरगन्ज भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले प्रतिव्यक्ति रु २५ देखि ५० सम्म रकम उठाउने गरेको पीडितको गुनासो छ ।

‘पहिले–पहिले भारतबाट सामान ल्याउँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई महिनावारी रकम दिने गरिएको, अहिले म्यादी प्रहरीलाई रकम दिनुपर्ने बाध्यता रहेको’ मीनाबजारका एक व्यापारीले नाम उल्लेख नगरिदिने सर्तमा बताएका छन् ।

ट्राफिक प्रहरीको जिम्मामा रहेको सवारीजाँच गर्ने अधिकार अब म्यादी प्रहरीले पनि प्रयोग गर्न थालेको भनी सवारीधनी तथा चालकले दिक्दारी व्यक्त गरेका छन् । घरायसी प्रयोजनका लागि भनेर दुई साडी ल्याउँदा भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले खोसेको तथा साँझ परेपछि रकम लिएर उक्त साडी फिर्ता दिएको छपकैयाकी एक गृहिणीले गुनासो गरिन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सरेपछि ब्यारेकभित्र बस्नुपर्ने म्यादी प्रहरीलाई वीरगन्ज सहरको कुनाकाप्चामा खटाइएपछि जनताले सास्ती भोग्दै आएका छन् । अहिले सीमावर्ती भारतको रक्सौलबाट घरायसी प्रयोजनका लागि समान ल्याउँदा भन्सार नाकामा रहेका भन्सार जाँचकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तथा सादा पोसाकमा रहेका घुमुवालाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता रहेको वीरगन्जवासीको गुनासो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org