ताजा समाचार

कुख्यात अपराधी चार्ल्स शोभराजले भने, ‘मलाई अस्पतालमै खतरा छ’

काठमाडौं, २५ जेठ । कुख्यात किलर चाल्र्स शोभराजको मुटुको जाँच गरिएको छ । ‘विकिनी किलर’का नामले समेत संसारभर कुख्याती कमाएका चार्ल्स शोभराजको कडा सुरक्षा घेराबीच मुटुको जाँच गरिएको हो । शोभराज केही दिनअघि हृदयघात भएर केन्द्रीय कारागारमै ढलेका थिए । ७३ वर्षीय कुख्यात अपराधी शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् ।

नेपालको जेलमा रहेका शोभराजको आगामी शनिबार ओपन हार्ट सर्जरी हुन लागेको केन्द्रीय कारागार श्रोतले जनाएको छ । भारतीय प्रत्रिका इण्डियन एक्सप्रेसले शोभराजसँग अस्पतालबाटै टेलिफोनबाट कुरा गरेको जनाईएको छ । शोभराजले भनेका छन्– मलाई थाहा छैन, म यसपटक बाँच्छु कि बाँच्दिनँ । मलाई मृत्युको धम्की आइसकेको छ । उसै पनि फ्रान्समा भन्दा नेपालमा ओपन हार्ट सर्जरीमा बढी खतरा हुन्छ । नेपालमा ३ देखि ५ प्रतिशत मान्छेको ओपन हार्ट सर्जरीमा ज्यान जान सक्छ, जब कि फ्रान्समा १ प्रतिशतमात्र खतरा रहन्छ ।

गंगालाल अस्पतालका कार्डियोलोजिस्टहरुले आफूलाई जतिसक्दो चाँडो मुटुको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको शोभराजले बताएका छन् । उनको मुटुको एउटा भल्भ पूरै ड्यामेज भएको र अर्को आधा ड्यामेज भएको विज्ञहरुले बताएका छन् ।

बिगत ५ वर्षदेखि शोभराजको मुटुको नियमित जाँच गरिरहेका एक बरिष्ठ मुटु रोग विशेषज्ञले शोभराजको अवस्था खतरायुक्त नभए पनि धेरै गम्भीर रहेको बताएको इन्डियन एक्सप्रेसले दाबी गरेको छ । चिकित्सकले भनेका छन्– उनको तत्काल मुटुको भल्भ फेर्नुपर्ने देखिएको छ । उनलाई मैले जेलमै गएर नियमित जाँच गरिरहेको छु ।आगामी शनिबार उनको भल्भ फेरिन्छ ।

शोभराजले आफ्नो मुटु रोगको रिपोर्ट आफ्नो साथी मार्फत फ्रान्स र बेलायतका मुटुरोग विशेषज्ञहरुलाई पनि देखाएका थिए । आफू एक वर्षअघि नै नेपालको जेलबाट मुक्त हुनुपर्ने भए पनि यहाँका सरकारी अधिकारीहरुले आफू विरुद्ध जुनसुकै घटना हुने भएकाले उनीहरुलाई मलाई खतरामा पार्न नचाहेको शोभराजको प्रतिक्रिया छ ।

शोभराजले भनेका छन्– हालसालै नेपालको सर्बोच्च अदालतमा भएको एउटा सनुुवाइमा मविरुद्ध केस हाल्ने एउटा स्थानीय व्यक्तिले मलाई फेरि धम्की दियो । उसले मलाई नेपालकै जेलमा मरेको हेर्न चाहान्छु भन्यो । त्यसैले मैले फ्रान्सेली दूतावासमा आफ्नो ज्यान सुरक्षाका लागि लेखेर पठाएको छु ।’

भारतीय पत्रिकालाई शोभराजले भनेका छन्– ‘मलाई उनीहरुले नेपाल सरकारबाट अस्पतालमा पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएको बताएका छन् । शोभराजले आफूलाई जेलभित्र खाना पकाएर खान नदिइएको भन्दै आफू कमजोर हुँदै गएको बताएका छन् । केही वर्षअघि शोभराजसँग १८ वर्षीया नेपाली किशोरी निहिता विश्वासले जेलभित्रै बिहे गरेकी थिइन् । तर पछिल्लो समयमा उनी शोभराज भेट्न जान छाडेकी छन् ।

आफू अस्पतालमा पनि ह्वीलचेयरमा आएको र उपचारपछि आफूले पुनः रिहाईका लागि पुनरावेदन गर्ने शोभराजले बताएका छन् । पेरिस फर्किएर आफूले धेरै काम गर्ने योजना बनाएको समेत शोभराजले बताएका छन् । शोभराजको जीवन र उनले गरेका अपराधसँग सम्बन्धित किताब प्रकाशन भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org