ताजा समाचार

प्रधानमन्त्री देउवा र मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको शरणमा

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले साधुको शरणमा पुगेर आशीर्वाद लिएका छन् । मंगलबार नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका प्रधानमन्त्री देउवा र उनका मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरुले मन्त्रालय सम्हाल्नुअघि साधुको आशीर्वाद लिएका हुन् ।


पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई भैंसीको पूजा गराएर चर्चित भएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर पोष्ट समेत गरेका छन् ।

तस्बिरमा प्रधानमन्त्री देउवाको साथमा पत्नी आरजु पनि देखिएकी छन् । तस्बिरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा साधुलाई दण्डवत गरिरहेका देखिएको छ । गलामा फूलको माला र खादा लगाएर उभिएका अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि शुभेच्छुकको साथमा साधुसँगै छन् । अनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि साधुसँग आशीर्वाद लिएका छन् ।

सन्त कृष्णदास जीका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्कीको तस्बिर नयाँ तथा महरा र गच्छदारको तस्बिर चाहिँ पुरानो हो । प्रधानमन्त्री, मन्त्री र नेताहरु यसरी आफूलाई भेट्न र आशीर्वाद लिनको लागि प्रायः आइरहने उनको भनाई छ ।

भगवानलाई निकै नै मान्ने देउवाले यसअघि पनि पशुपतिमा गएर ग्रहपूजा गराएका थिए । त्यस्तै उनले ज्योतिषकहाँ गएर साईत हेराएर प्रधानमन्त्रीको उम्मेदवारी दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org