ताजा समाचार

सत्ताविना श्वास पनि फेर्न नसक्ने विजयकुमार गच्छादार १४ औं पटक सरकारमा

काठमाडौं, २५ जेठ । मधेशी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदार भन्नेविक्तिकै सवैको कान तिखा हुन्छन् । उनी नेपालको राजनीतिमा एक खेलाडी नै मानिन्छन् । २०४८ सालदेखि नेपालको राज्यमन्त्री पद खाएका गच्छदार वर्तमान सरकारमा पुग्दा सम्म १४ औं पटक सरकारमा सहभागि भईसकेका छन् ।

नेपाली सत्ता राजनीतिको सदावहार खेलाडी मानिने गच्छदार देउवा नेतृत्वको वर्तमान सरकारमा १४ औं पटक सहभागि भएका छन् । नेपालको ईतिहासमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने भाग्यमानी नेता भन्दा गच्छदार हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेर सबैभन्दा धेरै पटक मन्त्री बन्ने रेकर्ड कायम गरेका छन् । संविधान सभाका दुइवटै चुनावमा प्रत्यक्ष जितेका कयौं सांसदले एक पटक पनि मन्त्री बन्न नपाउँदा पनि गच्छदार भने ६ पटक मन्त्री खाने ‘भाग्यमानी’ बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहँदा गच्छदार प्रचण्ड सरकारमा सहभागी भएका थिए । नयाँ सरकारमा सहभागिता सुनिश्चित गर्न गच्छदार केही दिनको लागि भए पनि प्रचण्ड सरकारमा गएका थिए ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला सरकारमा सञ्चार राज्यमन्त्रीबाट सरकारमा प्रवेश गरेका गच्छदार चारपटक उपप्रधानमन्त्री बनिसकेका छन् । २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए ।

२०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकार र ०५५ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदार निर्माण तथा यातायात मन्त्री थिए । २०५६ सालमा बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार र २०५८ सालमा बनेको देउवा नेतृत्वको सरकारमा गच्छदार जलस्रोत मन्त्री थिए ।

२०६५ सालमा प्रचण्ड नेतृत्वमा बनेको सरकार र २०६६ मा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारका गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री बने । त्यस्तै २०६८ सालमा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान एवं गृह र रक्षामन्त्री बनेका थिए । २०६९ सालमा बाबुराम भट्टराई सरकार पुनर्गठन हुँदा गच्छदार उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

२०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । प्रचण्ड र देउवा सरकारमा उनी उपप्रधानसहित स्थानीय विकास मन्त्री बनेका छन् । भौतिक पूर्वाधार मन्त्रालय उनको मुख्य रोजाइमा पर्ने मन्त्रालय हो । मन्त्री बनेको समयमा गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा एक आर्थिक बर्षमा १४ वटा पुल पारेका थिए ।

मधेश केन्द्रित दलका नेताहरु गच्छदारलाई सत्ताका लागि जे पनि गर्न सक्ने तथा सत्ताबिना बाच्न नसक्ने ‘पानी बिनाको माछो’को संज्ञा दिन्छन् । हुनत नेपाली ईतिहासमा राप्रपा अध्यक्ष कमल थापा पनि सत्ताको लागि मरिहत्तै गर्ने नेताको रुपमा चिनिन्छन् । तर थापाभन्दा गच्छदार सत्ता विना श्वासै फेर्न पनि नसक्ने जस्तो मानिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org