ताजा समाचार

स्वास्थ्य मन्त्रालयद्धारा भरतपुर अस्पतालको गुरुयोजना स्वीकृत

चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ । गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन् । देशकै मध्यभागमा रहेकाले तराई र पहाडका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउन यो अस्पताल प्रभावकारी हुने विश्वास लिइएको छ ।

अस्पताल परिसरमा हाल दुईवटा ठूला भवन निर्माण भएको र तेस्रो भवन निर्माणका लागि सम्झौता हुने क्रममा छ । रु २४ करोडको लागतमा सो भवन निर्माण गर्न लागिएको हो । अस्पताल क्षेत्रभित्र टिनका छाना भएका पुराना भवनमा पनि बिरामी राखिएका छन्। तेस्रो भवन बनेसँगै अस्पतालमा दिइने सेवा भूकम्प प्रतिरोधी नयाँ भवनबाट दिइनेछ ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गुरुयोजनाअन्तर्गत १४ बिगाहा १० कट्ठा जग्गामा छुट्टाछुट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास, बिरामी कुरुवा स्थल, पार्किङ, फूलबारीलगायतका संरचना निर्माण गरिनेछ । शुद्ध खानेपानीसँगै अस्पताल आफैले अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्नेछ । फोहर व्यवस्थापनका लागि इन्सिनेटर नामक उपकरण जडान गरिनेछ । रु ६ अर्ब ५४ करोडको लागतमा गुरुयोजनाअनुरुपको काम सम्पन्न गर्न सकिने प्रारम्भिक प्रस्ताव पेस गरिएको थियो ।

भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घसंस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहामात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले उपयोग गर्दै आएको तीन बिगाहा १० कट्ठा जग्गासमेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए ।

गुरुयोजना पारित भएसँगै आर्थिक र जनशक्तिका लागि प्रस्ताव तयार गरेर स्वास्थ्य विभागमा बजेटका लागि पेस गरिने र सो प्रस्ताव दाताहरु समक्ष पनि पेस गरिने डा मरासिनीले बताए । सरकारले बजेट उपलब्ध गराए पाँच वर्षभित्रमा गुरुयोजनाअनुरुपको काम हुने अनुमान गरिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org