ताजा समाचार

प्रधानमन्त्री बनेपछि संसदमा देउवाको पहिलो सम्बोधन, ‘चुनावअघि संविधान संशोधन असम्भव’

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशवादी दलहरुलाई दोस्रो तहको चुनावमा सहभागी हुन आग्रह गरेका छन् । संविधान संशोधन नभई चुनावमा सहभागी नहुने अडान राख्दै आएका मधेशवादी दलहरुलाई देउवाले यस्तो आग्रह गरेका हुन् । स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको देउवाले प्रष्ट पारेका छन् । चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

व्यवस्थापिका संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, दोस्रो चरणको चुनावअघि संविधान संशोधनको सम्भावना छैन । स्थानीय तहको दोस्रो चुनाव सकिनासाथ विपक्षी दलका नेताको समेत सहमति लिएर पारित गराउनुपर्छ ।’ देउवाले संविधानको स्वीकार्यता बढाउने सन्दर्भमा सरकार संवेदनशील रहेको र मधेशवादी दललाई चुनावमा ल्याउने वातावरण बनाउन आफूले प्रयास गरिरहेको बताए । साथै चुनावमा आउन राजपालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले मधेसी नेताहरुलाई भने, ‘म मधेसकेन्द्रित दलहरुलाई के आग्रह गर्न चाहन्छु भने अहिले हामीले चाहँदाचाहँदै पनि संविधान संशोधन गर्न सकिएन । तर, म विश्वास दिलाउन चाहन्छु, चुनावपछि म संविधान संशोधन गरेर छाड्नेछु् । प्रतिपक्षले पनि सघाउँछ भन्ने विश्वास छ । तपाईहरु चुनावमा भाग लिनोस् ।’

स्थानीय चुनाव अघि संविधान संशोधन गर्न सम्भव नरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, चुनाव सुरु हुने भइसक्यो, चुनाव सकिनासाथै प्रतिपक्षी दलका नेताहरुले कुरा गरेर संशोधन गर्न सकिने विश्वास छ ।’

अर्को एक प्रसंगमा देउवाले भरतपुरको मतपत्र च्यातिएको कुरालाई धेरै नउचाल्न एमालेलाई आग्रह गरे । मतपत्र बिगतमा पनि च्यातिएको भन्दै उनले यसबारे निर्णय गर्ने अधिकार संवैधनिक निकाय निर्वाचन आयोगको भएको बताए । उनले मतपत्र च्यातिनुलाई कांग्रेसले र आफूले कहिल्यै राम्रो नभएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org