ताजा समाचार

चुनावमा नजाने बताईरहेको राजपा र सत्तारुढ दलबीच आज पनि छलफल हुँदै

काठमाडौं, २८ जेठ । सत्तारुढ दलहरुले राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा सहभागी गराउन आज पनि प्रयास जारी राख्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले राजपाको अध्यक्ष मण्डलका नेतासँग छलफल गर्न लागेका हुन् ।

बैठकमा राजपाले भनेजस्तो संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्ने सम्भावना नरहेको र पटकपटक सारिएको चुनावको मिति अझै सार्न नसकिने भएकाले राजपाका बाँकी माग पूरा गर्नेबारे छलफल हुने नेताहरुको भनाई छ ।

मधेश आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा, घाइतेको उपचार खर्च र मुद्दा फिर्ता लिने लगायतका विषयमा लचिलो हुने सत्तापक्षले तयारी गरेको सत्तारुढ दलका नेताहरुको भनाई छ । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बरु चुनावै बिथोल्ने बताउँदै आएको राजपाका नेतालाई पनि चुनावमा भाग लिन पार्टीभित्रै र बाहिरबाट पनि दबाब बढ्दै गएको छ ।

राजपा बाहेकका सवै पार्टीले चुनावको तयारी तीब्र पारिसकेको र २० वर्षपछि हुन लागेको स्थानीय स्तरको चुनाव हुन नदिनु आफ्नो क्षेत्रको विकास विरोधी काम हुने भएकाले माग पूरा गर्न सरकारलाई थप प्रतिबद्ध बनाएर चुनावमा माग लिनुपर्ने दबाब राजपाभित्र पनि बढ्दै गएको छ ।

शनिवार भएको छलफलमा पनि राजपा नेताहरुले चुनावको मिति सार्न माग गरेका थिए । तर सत्तारुढ दलहरुले राजपाको उक्त मागलाई ठाडै अस्वीकार गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org