ताजा समाचार

२ नम्बर प्रदेशको चुनाव मात्रै सार्ने राजपाको नयाँ माग, सत्तापक्षद्धारा ठाडैं अस्वीकार

काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव गरेको छ । असार १४ मा हुने दोस्रो चरणको चुनाव नै सार्न माग गरिरहेको राजपाले अन्तमा आएर २ नम्बर प्रदेशको मात्र चुनाव सार्न माग गरेको हो । तर राजपाले राखेको उक्त प्रस्ताव सत्तारुढ दलले ठाडै अस्वीकार गरेका छन् ।

राजपालाई सहमतिमा लिएर चुनावमा जाने प्रयासमा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा आज राजपासँग सत्तारुढ दलका नेताले छलफल गरेका थिए । ‘राजपाका नेताहरुले असार १४ को चुनाव सार्न प्रस्ताव गर्नुभयो, हामीले नमानेपछि २ नम्बर प्रदेशको मात्रै भए पनि सारौं भन्नुभयो,’ बैठकमा सहभागी सत्तापक्षका एक नेताले भने, ‘हामीले त्यो प्रस्ताव पनि अस्वीकार गर्‍यौं र बैठक विना निश्कर्ष टुंगिएको छ ।’

चुनाव जतिसुकै सारे पनि राजपाले चुनावमा भाग लिने विश्वास नभएकाले चुनाव सार्न नसकिने सत्तापक्षका नेताहरुले जवाफ दिएका थिए । राजपाले चुनावमा भाग लिनका लागि संविधान तत्काल संशोधन हुनुपर्ने र स्थानीय तहको संख्या थप गर्नुपर्ने शर्त राख्दै आएको छ ।

असार १४ को चुनाव पछि सारे पनि संविधान संशोधनमा एमाले सहमत नभएकाले संविधान संशोधन हुन्छ भनेर ग्यारेण्टी लिन नसकिने सत्तापक्षका नेताहरुले राजपालाई जवाफ दिएका छन् । दुवै पक्ष आ आफ्नै अडानमा रहेपछि आजको बैठकपनि निष्कर्षविहीन भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org