ताजा समाचार

एमालेबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने

काठमाडौं, २९ जेठ । नेकपा एमालेले स्थानीय तहका प्रमुख उपप्रमुख र वडाअध्यक्ष जस्ता कार्यकारी पदमा जितेकाहरुले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने भएको छ । एमालेले त्यसको लागि आवश्यक पर्ने नीति तर्जुमा गरिरहेको छ । एमाले महासचिव ईश्वर पोखरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपरे तयार रहन निर्देशन दिएका छन् ।

प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर, उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण दिन सोमवार प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एक व्यक्ति एक पदको संकेत गरेका हुन् ।

महासचिव पोखरेलले भने, ‘जो–जो कमरेडहरु पार्टीको पनि कार्यकारी पदमा हुनुहुन्छ र अहिले स्थानीय तहको कार्यकारी पदमा निर्वाचित हुनुभएको छ, तपाईहरुले पार्टीको जिम्मेवारी अर्को कमरेडलाई सुम्पिएर जनताको काममा मात्र केन्द्रित हुनुपर्ने अवस्था आउन सक्छ । पार्टीले निर्णय गरिसकेको छैन तर, तयार रहनुस् ।’

पार्टी र जनप्रतिनिधिको काम दुवैतिर समय दिन नसकिने र पार्टीको प्रमुख नै नगर वा गाउँपालिका प्रमुख हुँदा उसलाई नियन्त्रण र सन्तुलन गर्ने निकाय पनि नहुने भएकाले जनप्रतिनिधिलाई पार्टीको मुख्य पदबाट बिदा गर्ने एमाले नेताहरुले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org