ताजा समाचार

एक महिना चुनावी प्रचार गरिसकेपछि साँफेबगरमा एमाले उम्मेदवार परिर्वतन

अछाम, २९ जेठ । तीन चरण घरदैलौ गरिसकेपछि नेकपा एमाले साँफेबगर नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार फेरिएका छन् । नेकपा एमालेले अछामको साँफेबगर नगरपालिकाको मेयरका बारेमा विवादास्पद समाचार आएपछि मेयरका उम्मेदवार शिवबहादुर कुँवरलाई फिर्ता बोलाएको हो । उनको ठाउँमा मेयरमा अब कुलबहादुर कुँवरलाई उम्मेदवार बनाईएको छ ।

मेयरका उम्मेदवार फिर्ता बोलाएपछि उपमेयरकी उम्मेदवार अमृता खड्काले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । करीव एक महिनाअघि नै एमाले ७ नम्बर प्रदेश कमिटीले तय गरेका मेयर उम्मेदवार शिवबहादुर कुँवरको बारेमा विवादास्पद समाचार आएपछि एमालेले निर्णय फेरबदल गरेको हो ।

साँफेबगरको मेयरमा अब कुलबहादुर कुँवर र उपमेयर बिर्मला बुडथापा उम्मेदवार तय भएको ७ नम्बर प्रदेश कमिटीका संयोजक भीम रावलले जानकारी दिए । यसअघिका उम्मेदवार शिवबहादुर कुँवर शिलोजको बारेमा बिभिन्न सन्चारमाध्यममा चरित्रहत्या गर्ने खालका समाचार आएकाले चुनावमा असर पर्ने देखेर उम्मेदवार फेरिएको एमालेले जनाएको छ ।

शिलोजको बारेमा काठमाडौंको सिद्धार्थ सहकारी लगायतको बैंक कारोबारमा अनियमितता गरेको आरोपसहित समाचार आएको थियो । उनले आफू विरुद्ध नियोजित रुपमा चरित्रहत्या भएको र चुनावपछि कानुनी र राजनीतिक उपचार खोज्ने आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org