ताजा समाचार

दार्जिलिङमा नेपाली भाषीमाथि सरकारको चरम दमन, महिला र बालबालिका प्रहरीको निशानामा

काठमाडौं, ३१ जेठ । भारतको दार्जिलिङमा गोर्खाल्याण्ड राज्यको माग गर्दै गरिरहेको आन्दोलन थप चर्किएको छ । दार्जिलिङमा बसोबास गर्ने नेपाली भाषीहरुले गोर्खाल्याण्ड राज्यको माग गरेपनि भारतीय सरकारले सेना परिचालन गरेर दमन गर्न थालेपछि आन्दोलन थप चर्किएको हो । गोर्खा जनमुक्ति मोर्चाले सन २००७ देखी नै छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै संघर्ष गरिरहेको छ ।

नेपाली भाषीको बाहुल्यता रहेका गोर्खाल्याण्डमा भारतीय सरकारले त्यहाँको बंगाली भाषालाई कामकाजी भाषा बनाएपछि पछिल्लो पटक आन्दोलन चर्किएको हो । भारतीय सरकारले आन्दोलनकारीमाथि कदनको नीति लिएको छ । आन्दोलनकारी पनि आफ्नो अन्तिम लडाई भन्दै मैदानमा उत्रिएका छन् ।

आन्दोलनकारीहरुले आफ्नो भाषालाई श्वास रहनुन्जेल मर्न नदिने भन्दै कडा संघर्ष गरिरहेका छन् । प्रहरीले भने कडा दमन गरिरहेको छ । प्रहरीले विशेषगरी महिला तथा बालबालिकामाथि लाठी चार्ज, धरपकड तथा गिरफ्तार गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मोर्चाले गरेको आन्दोलनपछि नेपाली भाषीका माग सम्बोधन गर्न भन्दै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जेटीए) गठन गरिएको थियो । अहिले आएर नेपाली भाषीमाथि समेत बंगाली भाषा थोपर्न खोजेपछि आफूहरु बाध्य भएर आन्दोलनमा जानुपरेको गोर्खा जनमुनिक्त मोर्चा केन्द्रका प्रमुख बिमल गुरुङले भनाई छ ।

बंगाली भाषा थोपर्ने पश्चिम बंगालको तृणमुल काँग्रेस नेतृत्वको सरकारको निर्णयविरुद्ध दार्जिलिङमा निकालिएको शान्तिपूर्ण जुलुसमाथि प्रहरी लगाएर हस्तक्षेप गर्दा ५० भन्दा बढी घाइते भएको मोर्चाले जनाएको छ ।

गुरुङले दार्जिलिङमा सेना तैनाथ गरेर मुख्यमन्त्रीले अनुशासित मोर्चा कार्यकर्तालाई आतंकवादीको संज्ञा दिन खोजेको भन्दै राज्य सरकारको यस्तो हस्तक्षेप र ज्यादतीले अब पहाडमा जीटीएरुपी अन्तरिम स्वायत्त निकायलाई जारी राखिरहनुको कुनै अर्थ नभएकाले गोर्खाल्याण्ड राज्य गठनको माग गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् । बंगालमा ममता बनर्जी सरकारले सरकारी स्कुलमा कक्षा १ देखि १० सम्म बंगाली भाषा अनिवार्य गरेको छ ।

नेपाली भाषीहरुको आन्दोलनका कारण दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरखाङलगायत क्षेत्र ठप्प प्राय बनेका छन् । गोर्खाल्याण्ड आन्दोलन थप बढ्दै जाँदा सबैलाई आन्दोलनमा अनिवार्य रुपमा उपस्थित हुन मोर्चाले पनि सबै नेपालीभाषी समुदायलाई आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org