ताजा समाचार

राजपा आन्दोलन हिंसात्मक बन्दै, रौतहटमा यात्रु बस र भारतीय नम्बरको गाडीमा तोडफोड

रौतहट, ३१ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले रौतहटमा यात्रुबाहक बसमा तोडफोड गरेका छन् । स्थानीय तह निर्वाचनको विरोधमा आह्वान गरेको चारदिने आम हड्तालको दोस्रो दिन राजपा कार्यकर्ताले एउटा यात्रु बस र एक भारतीय नम्बरको गाडी तोडफोड गरेका हुन् ।

हिजो काठमाडौंबाट सशस्त्र प्रहरीको मद्दत लिएर सीमा सुरक्षा कार्यालय हजमिनिया आएको गाडी आज बिहान फर्किने बेलामा राजपा कार्यकर्ताहरुको निशानामा परेको हो । आम हडतालको अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले ना ३ ख ५६२२ नम्बरको खाली गाडीलाई गौरको कबिर चोकमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । खालि गाडि बसपार्कमा राख्न लाने क्रममा तोडफोड भएको बसका कर्मचारीले बताएका छन् ।

राजपाका कार्यकर्ताहरु आज विहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार एरिया लगायत विभिन्न स्थानहरुमा टायर बालेर नारावाजीसहित प्रदर्शन गरिरहेका छन् । बन्दका कारण गौरबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका सवारीसाधनहरु पूर्णरुपमा बन्द हुँदा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । जिल्लास्थित सम्पूर्ण सामुदायिक विद्यालय, व्यापारिक प्रतिष्ठान, कलकारखाना बन्द रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org