ताजा समाचार

इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकबाट ‘घृणा फैलाउने’लाई मृत्युदण्डको सजाय

काठमाडौं, १ असार । फेसबुकमा निन्दा तथा घृणाजन्य सामाग्रीहरु पोष्ट गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा तैमुर राजा नाम गरेका व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युदण्डकोे फैसला सुनाएको हो ।

सोसल मिडियासँग सम्बन्धित मुद्दामा कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला गरिएको यो सायद पहिलो घटना हो । उता फेसबुकमा लेखेको विषयलाई लिएर मृत्युदण्ड दिने फैसलाको विषयमा मानव अधिकारवादीहरुले चासो व्यक्त गरेका छन् । यस विषयमा फेसबुक आफैंले चाहिँ कुनै टिप्पणी गरेको छैन ।

गत मार्चमा फेसबुकले एक जानकारी दिँदै पाकिस्तानमा फेसबुकका घृणाजन्य सामाग्रीहरु सम्बन्धी सरकारी चासोलाई सम्बोधन गर्न एक टोली पाकिस्तान पठाउन लागेको जनाएको थियो । तर आफ्ना प्रयोगकर्ताको गोपनियता तथा अधिकारको रक्षा गर्ने अझै पनि आफ्नो इच्छा रहेको फेसबुकको भनाइ थियो ।

पाकिस्तानको राजधानी इस्लामावादभन्दा ४९८ किलोमिटर टाढा रहेको बहावालपुरस्थित आतंकवादविरोधी अदालतले अभियुक्त राजामाथिको मुद्दामा सुनुवाई गरेको थियो । बस स्टपमा आफ्नो फोनबाट धार्मिक निन्दायुक्त भाषण तथा अडियो सामग्रीहरु सुनाएसँगै उनलाई पक्राउ गरिएको थियो । पछि उनको फोन बरामद गरेर अनुसन्धान गरिएको थियो ।

आफूमाथिको मृत्युदण्डको फैसलाविरुद्ध राजाले लाहोर उच्च अदालत तथा अन्त्यमा पाकिस्तानको सर्वोच्च अदालतमा पनि पुनरावेदन गर्न सक्नेछन् । स्मरण रहोस् केही दिनअघि सोसल मिडियामा धार्मिक निन्दायुक्त सामग्री पोष्ट गरेको अभियोगमा एक प्राध्यापकमाथि पनि मुद्दा चलेको थियो र उनलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org