ताजा समाचार

चुनाव सार्ने सरकारी निर्णयप्रति एमालेको कडा प्रतिक्रिया, विखण्डकारी तत्वहरुको मनोबल बढ्यो

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई नम्बर प्रदेशमा चुनाव सार्ने निर्णयप्रति गम्भिर आपत्ति जनाएको छ । साथै यो निर्णयले देशलाई संकटतर्फ लैजाने ठहर पनि गरेको छ ।

विहिबार एक विज्ञप्ति जारी गर्दै एमालेले प्रदेश नम्बर २ मा चुनाव सारेर त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैँ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको र मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको आरोप लगाएको छ ।

‘कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ,’ एमाले सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पुर्याउने यस कदमका विरुद्ध सचेत रहन आह्वान गर्दछौं ।’

आफूहरुले पटक–पटकका वार्ताहरुमा कुनै हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दिँदै आएको भन्दै एमालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सुरुमा एकै चरणमा ३१ वैशाखका लागि निर्धारित निर्वाचनमध्ये चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै हाम्रो पार्टीले शंकाका दृष्टिले हेर्दै यसले देशलाई संकटमा लैजाने ठहर गरेको थियो । पछि असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित थियो भन्ने कुरा यस घटनाले पुष्टि गरेको छ ।’

एमालेले संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पुर्याउने यस्ता कदमविरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । ‘हाम्रो पार्टी प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आमजनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org