ताजा समाचार

गोर्खाल्याण्ड आन्दोलनबारे प्रशान्त तामाङ भन्छन्, ‘आमामाथि लाठीचार्ज हुँदा चुप बस्न सक्दिन’

काठमाडौं, ९ असार । चर्चित कलाकार प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनबारे गीत बनाईरहेको बताएका छन् । सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका तामाङले गोर्खाल्याण्ड आन्दोलनले आफ्नो मन अशान्त भईरहेको भन्दै त्यसबारेमा गीत रचना गरिरहेको बताएका हुन् ।

स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन् । दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा दिल्ली बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्दै आएका छन् । उनले दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन् ।

गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको समेत तामाङ बताएका छन् । ‘म आज जे छु, त्यो दार्जिलिङ अर्थात् पहाडका मानिसकै कारण भएको हुँ,’ इण्डियन्स एक्सप्रेससँग कुरा गर्दै प्रशान्तले भनेका छन्, ‘त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु ।’

गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएका शान्तिपूर्ण प्रदर्शनमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेकोप्रति समेत प्रशान्तले आपत्ति जनाएका छन् । उनले दार्जिलिङ युद्धभूमि नभएको र सरकारले बिनाकारण सेना परिचालन गरेकोप्रति उनको आक्रोश छ।

प्रशान्तले बंगाल सरकारप्रति प्रश्न गर्दै भनेका छन्, ‘दार्जिलिङमा किन सेना खटाइएको छ ? के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ?’ सँगै प्रशान्तले दार्जिलिङका जनतामाथि अर्थात् आम नागरिकमाथि लाठी प्रहार हुनुलाई आफ्नी आमामाथिको दमनको रुपमा लिएको उल्लेख गरेका छन् । ‘गोर्खाल्याण्डका लागि जारी आन्दोलन रोकिँदैन’, प्रशान्तले भनेका छन्, ‘ तपाईंकी आमालाई लाठीचार्ज भइरहँदा के तपाइँ चुप लाग्न सक्नुहुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org