ताजा समाचार

आज मध्यरातबाट मौन अवधि, चुनाव प्रचार प्रसार गर्न नपाईने

काठमाडौं, ११ असार । दोस्रो चरणको चुनाव अन्तर्गत आज मध्यरातबाट मौन अवधि सुरु हुनेछ । स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उमेदवारहरु प्रचार प्रसारमा व्यस्त रहेका बेला मध्यरातबाट मौन अवधि सुरु हुन लागेको हो । मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न रोक लगाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार आइतबार मध्यरातबाट उमेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन् । प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, र्याली र मतदातासँगको भेटघाटमा व्यस्त छन् ।

मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागू हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने,’ उल्लेख छ ।

मौन अवधिमा चुनाव प्रचार प्रसार तथा मतदाता प्रभावित पार्ने खालका गतिविधि गरेमा निर्वाचन आचारसंहिता विपरितको कार्य मानिन्छ । त्यस्तो गरेमा उम्मेदवारी रद्धदेखि लिएर जेल सजाय समेत हुनसक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org