ताजा समाचार

नारायणगढ–मुग्लिन सडक यात्रा जोखिमपूर्णः एक वर्षमा ४६ को मृत्यु, त्रिशूलीमा खसेर १९ बेपत्ता

चितवन, ११ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा एक वर्षमा सवारी दुर्घटनामा ४६ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा भएका ३४ वटा सवारी दुर्घटनामा परी ९३ जना घाइते भएका छन् । एक वर्षको अवधिमा दुर्घटना हुँदा त्रिशूली नदीमा खसेर १९ जना बेपत्ता भएका छन् । उनीहरु अहिलेसम्म पनि फेला परेका छैनन् ।

पहिरोको जोखिम, साँघुरो सडक र ओभरटेकले गर्दा नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । दुर्घटना रोकथामका लागि सरोकारवालासित छलफल थालेको उनको भनाई छ । नारायणगढ-मुग्लिन सडकको अवस्था, पहिरो र चालकको लापरबाहीले दुर्घटना बढेको छ’ उनले भने, ‘यसको रोकथामका लागि परेका छौं ।’

ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा यो खण्डमा ३४ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा त्रिशूलीमा खसेर १९ जना बेपत्ता भएका छन् । ९३ जना घाइते भए । यो खण्डको ३६ किलोमिटर र पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवा खोलासम्म २० गरी ५६ किलोमिटरको सडक त्रिशूली नदीको किनार पर्छ ।

नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा बिहीबार राति खसेको पहिरो पन्छाएर फर्किने क्रममा प्रहरी सवार गाडी कालीखोला नजिकै त्रिशूलीमा खस्दा बेपत्ता दुई प्रहरी जवान अझै फेला परेको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनतर्फ जाँदै गरेको बा १ झ १३९० नम्बरको गाडी पहिरोसँगै २ सय मिटर तल त्रिशूली नदीमा खस्दा प्रहरी सहायक निरीक्षकसहित २ प्रहरीको मृत्यु भएको थियो ।

त्रिशूलीमा खसेको प्रहरीको जिप अहिलेसम्म देखिएको छैन । त्रिशूलीमा बेपत्ता भएका प्रहरी जवानहरु तनहुँका सन्दीप कार्की र गोरखा मकैसिंहका लीलबहादुर चेपाङ अझै फेला परेको छैन । उनीहरुको निरन्तर खोजी गरे पनि फेला नपरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।

उक्त सडक खण्डमा दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूलीमा खस्ने र चालक र यात्रुको मृत्यु, बेपत्ता हुने गरेको छ । राजधानीलाई जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएदेखि नै यो क्षेत्रमा पहिरोको जोखिम बढेको हो । पानी पर्ना साथ ठाउँठाउँ पहिरो खस्न थालेपछि यात्रा जोखिम बन्दै गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org