ताजा समाचार

मतगणनाको प्रारम्भीक परिणाम आउन सुरुः एमाले, काँग्रेससँग माओवादी प्रतिस्पर्धीमा

काठमाडौं, १५ असार । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । प्रदेश नम्बर १,५ र ७ का विभिन्न स्थानीय तहमा बुधबार रातिदेखि नै मतगणना सुरू भएको छ । दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको निर्वाचन नतिजाभन्दा अलि फरक देखिएको छ । पहिलो चरणको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा भएको थियो । तर दोस्रो चरणको निर्वाचनको प्रारम्भीक नतिजा अनुसार माओवादी केन्द्र पनि प्रमुख प्रतिस्पर्धीको रुपमा देखिएको छ ।

झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ ।त्यसैगरी, पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पालगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ । पछिल्लो प्रारम्भिक नतिजाअनुसार नेकपा माओवादी केन्द्रले बर्दिया, दाङ, भोजपुर, रोल्पा लगायत जिल्लाका केही वडाहरुमा विजयी भएका छन् । त्यस्तै ती जिल्लाहरुका गाउँपालिका प्रमुखमा समेत माओवादी केन्द्रले अग्रता लिईरहेको छ ।

त्यस्तै ७ नम्बर प्रदेश अन्गर्तत डोटीको दीपायल, सिलगढी र शिखर, कञ्चनपुरको महाकाली, बैतडीको मेलौली नगरपालिमा काँग्रेस उम्मेदवार अगाडी रहेका छन् । त्यस्तै रूपन्देहीको देवदह नगरपालिकामा पनि कांग्रेस उम्मेदवारले सुरुआती अग्रता लिएका छन् ।

कञ्चनपुरको महाकाली नगरपालिकामा २५० मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार १०८ मत पाएका छन् । दोस्रो स्थानमा रहेको एमालेले ५९ मत पाएको छ । २४ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

उपमेयरमा एमालेले १०१ मत पाएको छ भने कांग्रेसले ६० मत ल्याएको छ । राप्रपाका उपमेयर उम्मेदवारले २६ मत पाएका छन् । चौथो स्थानमा रहेको माओवादी केन्द्रले मेयरमा १२ र उपमेयरमा १५ मत पाएको छ ।

डोटीको शिखर नगरपालिकामा पनि नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को १०२ मत गन्दा मेयरमा कांग्रेस उम्मेदवारले ६२ मत पाएका छन् भने उपमेयरले ६० मत पाएका छन् । एमाले मेयर उम्मेदवारले ३४ मत पाएका छन् भने उपमेयरले ३२ मत ल्याएका छन् ।

प्रदेश नम्बर ५ को रुपन्देही जिल्लाको देवदह नगरपालिकामा १ सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर केसीले ३७ मत ल्याएका छन् भने एमालेका टिकाराम चापागाईँले २४ मत पाएका छन् ।

नेकपा एमालेले संखुवासभाको खाँदबारी नगरपालिकामा अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १० को ३२३ मत गनिसक्दा मेयरमा एमालेका उम्मेदवारले १५९ मत ल्याएका छन् भने १२६ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन् । माओवादी केन्द्रले १२ मत पाएको खाँदबारी नपाका मुख्य निर्वाचन अधिकृत देबेन्द्र पौडेलले जानकारी दिए ।

कैलालीका दुई नगरपालिका टीकापुर र भजनीमा भने उपप्रधानमन्त्री विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम अगाडि छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम शर्माका अनुसार भजनी नगरपालिकामा १७० मत गन्दा फोरमका मेयर उम्मेदवारले ३९ मत पाएका छन् भने उपमेयर उम्मेदवारले ३४ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस मेयर उम्मेदवारले २३ मत र उपमेयरले २४ मत पाएका छन् । एमालेका मेयर उम्मेदवारले २१ मत पाएको छन् भने उपमेयरले १४ मत पाएका छन् ।

कैलालीकै टीकापुर नगरपालिकामा २०० मत गन्दा फोरम नै अगाडि छ । मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीका अनुसार टीकापुरका ५ र ६ वडाको मतगणना भइरहँदा फोरमका मेयर र उपमेयर उम्मेदवारले समान ५६ मत पाएका छन् ।

दोस्रो स्थानमा एमाले कांग्रेस छन् । दुबै पार्टीका मेयर उम्मेदवारले ५२ मत पाएका छन्। तेस्रो स्थानमा रहेको माओवादीले मेयरमा २१ मत पाएको छ ।

बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता सुरुआती अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १ को ६३८ मत गनिसक्दा माओवादीले मेयरमा २८० मत र उपमेयरमा २७८ मत पाएको मुख्य निर्वाचन अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

माओवादी केन्द्रलाई पछ्याउँदै कांग्रेसका उम्मेदवारले मेयर पदमा २३१ मत ल्याएका छन् भने उपमेयरमा २३६ मत ल्याएका छन् । एमाले उम्मेदवारले मेयरमा १०१ र उपमेयरमा ९७ मत पाएका कुँवरले बताए ।

रूपन्देहीको सिद्धार्थनगरपालिकामा नेपाली कांग्रेसले प्राम्भीक अग्रता लिएको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५३, एमालेले ४८ राप्रपाले ४२ तथा माओवादी केन्द्रका उम्मेद्वारले ३४ मत पाएका छन् । अहिलेसम्म २०२ मतको गणना भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org