ताजा समाचार

कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले विजयी

कपिलवस्तु, २० असार । शिवराज नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ । एमाले उम्मेदवार नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।

उपप्रमुख पनि एमालेनै विजयी भएको छ । २३ वर्षीया शिवकुमारी चौधरी ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बनेकी छन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन् ।

कुल ११ वटा वडा रहेको शिवराजको वडा नम्बर १, ३, ४ र ५ एमालेले प्यानलसहित जितेको छ भने राजपाका स्वतन्त्र उम्मेदवारले वडा नम्बर ७ र १० जितेका छन् । जिल्लाकै सानो रोल्पा भनेर चिनिने वडा नम्बर ९ शिवगढीमा माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ । वडा नम्बर ११ मा कांग्रेस, २ मा फोरम लोकतान्त्रिक, ६ र ८ मा फोरमले जित हात पारेको छ ।

यससंगै कपिलवस्तुका २ वटा स्थानमा एमाले विजयी भएको छ । यसअघि विजयनगर गाउँपालिकामा एमालेका गोपाल थापा विजयी भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org