ताजा समाचार

एउटाले पाएको भोट अर्कोमा जोडेपछि धरान उपमहानगरको मतगणना स्थगित

धरान, २० असार । धरान उपमहानगरपालिकाको मतगणना सोमबार मध्यरातबाट स्थगित भएको छ । मतगणना सकिएर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा एउटाको मत अर्को पार्टीको उम्मेदवारलाई जोडिदिएको सूचना बाहिरिएपछि विवाद भएपछि मतगणना स्थगित भएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट उपमेयरका उम्मेदवारको मत अर्कै उम्मेदवारलाई जोडेको भन्दै नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका नेताहरुले चर्को विरोध गरेपछि राति ११ बजेदेखि मतगणना स्थगित भएको हो।

वडा नम्बर ९, १० र ११ को मतगणना भइरहँदा एमाले बढी मत जोडेको भन्दै सुरुमा विवाद भएको थियो। माओवादी, समाजवादी फोरम र कांग्रेसलगायत दलले विरोध गरेपछि ती गणक कर्मचारीलाई निष्काशन गरिएको केही घण्टालगत्तै वडा नम्बर ९ को मतपरिणाम घोषणअघि निर्वाचन अधिकृतको कार्यालयमा लगिएको चार्टलाई रुजु गर्ने क्रममा लापरबाही भेटिएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले उक्त गल्तीलाई सच्याएर घोषणा गर्नुअघि नै माओवादी केन्द्र र समाजवादी फोरमका नेताहरुले थाहा पाएपछि विरोध गर्दै मतगणना कार्य तत्काल रोकेका थिए। यो प्रकरणले वडा ९ र १० को मतगणना सकिएपनि सार्वजनिक हुन पाएन।

निर्वाचन अधिकृतको कार्यालयले विवादलाई तत्काल समाधानको प्रयास गरेपनि माओवादी केन्द्र र समाजवादी फोरम गठबन्धनले मतगणना कार्य सुचारु गर्न सहमत भएन। त्यसपछि मध्यराति सर्वदलीय बैठक बसेर मंगलबार बिहान ७ बजे बैठक बसेर थप निर्णय गरी अघि बढ्ने निर्णय गरेपछि अहिलेसम्म पनि बैठक सुरु भएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org