ताजा समाचार

पार्टीका उम्मेदवारलाई हराएकोमा कांग्रेस कार्यकर्ताले खुशीयाली मनाए, एनपी साउदलाई समस्या

कञ्चनपुर, २२ असार । सामान्यतया आफ्नो पार्टीको उम्मेदवार विजयी हुँदा खुशीयाली मनाईन्छ । विजयी उम्मेदवारलाई बाजागाजासहित अविरजात्रा गर्ने देखि विजय उत्सव मनाउने गरिन्छ । तर कञ्चनपुरमा भने माथिको मान्यताले फेल खाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अन्तर्घात गरेर कांग्रेसलाई हराउन सफल भएकोमा कार्यकर्ताले खुशीयाली मनाएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसलाई हराएको खुशी व्यक्त गरेका हुन् ।

पार्टी सभापति पदमा बसेको मान्छेलाई वडा अध्यक्षमा समेत टिकट नदिएर आफूलाई अपहेलना गरेको भन्दै साबिकको रैकवार विचुवाका पार्टी सभापति काशीराम भाटले फेसबुकमार्फत कांग्रेसलाई हराएकोमा खुशी व्यक्त गरेका हुन् । उनले उपमेयर र वडा अध्यक्ष दुवै घोडाघाटमा दिएर आफ्नो अपहेला गरेको हुँदा साथीहरुको सहयोगमा कांग्रेसलाई हराएको उल्लेख गरेका छन् ।

भाटले फेसबुकमार्फत चन्द्रबहादुर साउद, प्रकाश भट्ट, बेदी राना, पुस्कर ओझा (राजघाट), कल्लु राना (पिपरैया), लोकराज राना (राजघाट), बालकृष्ण अवस्थी र श्यामलाल राना (कलुवापुर) को नेतृत्वमा १३ गते राति पिपरैयामा बसेर त्यहाँका बासिन्दालाई विभिन्न कुराको प्रलोभन देखाएर सबैलाई नेकपा एमालेमा भोट हाल्न लगाएको उल्लेख गरेका छन् ।

उनले क्षेत्र नम्बर २ का सभासद एनपी साउदको कमजोरीले आफूले यस्तो कदम चाल्नु परेको भन्दै राजघाट र पिपरैयामा कुनै पदका लागि टिकट नदिएर घोडाघाटलाई दुईवटा टिकट दिई आफूहरुलाई मानिस नभएको भन्ने पुष्टि गरेकाले आफूहरुले यस्तो कदम चालेको उल्लेख गरेका छन् ।

भाटले साबिकको रैकवारविचुवा गाविस कृष्णपुर नगरपालिकामा समायोजन हुँदा आफ्नो क्षेत्रमा मेयर पदको टिकट दिनुपर्ने भन्दै नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएको जेठमा ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापनपत्रमा रैकवारमा मेयरको टिकट नदिए आफूहरुले कृष्णपुरमा असहयोग गर्ने उल्लेख गरेकाले अन्तर्घात गरेको हुन सक्ने स्रोतले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org