ताजा समाचार

जलवायु परिवर्तन हल्ला मात्र भएको दाबी गर्दै अमेरिका पेरिस सम्झौता गर्न असहमत

काठमाडौं, २५ असार । पेरिस सम्झौतामा अमेरिकाले असहमति जनाएपनि अन्य १९ देशले हस्ताक्षर गरेका छन् । विकसित देशहरुको सम्मेलन जी-ट्वेन्टीमा अमेरिकाका कारण जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा सहमति जुट्न नसकेपछि बाँकी १९ देशले मात्र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सन् २०१५ मा पेरिसमा भएको सम्झौताप्रति आफ्नो निष्ठा दोहोर्‍याउँदै १९ देशले त्यसप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।तर अमेरिकाले भने त्यसमा सहमति जनाएको छैन । यसले गर्दा जी-ट्वेन्टी सम्मेलन जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागु गर्ने विषयमा सहमतिमा पुग्न सकेन । जलवायु परिवर्तन हल्ला मात्रै रहेको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा असहमति जनाएपछि अमेरिका सम्झौताबाट बाहिरिएको छ ।

जर्मनीको ह्यामबर्गमा भएको जी-ट्वेन्टी सम्मेलनको अन्तिम दिन सहमतिमा पुग्ने लामो प्रयास भए पनि सफल हुन सकेन र अन्नतः १९ देशका नेताले पेरिस जलवायु परिवर्तन सम्झौता लागु गर्नेसम्बन्धी प्रतिबद्धता दोहोर्‍याएका छन् ।

ह्यामबर्ग जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा प्रतिबद्धता जनाउन माग गर्दै प्रदर्शन समेत भएको थियो । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा पेरिस जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी निर्णय आफूहरुले स्वीकार गरेको उल्लेख गरिएको छ ।

तर सम्मेलनमा सहभागी नेताहरु पेरिस जलवायु सम्झौता परिवर्तन गर्न नसकिने र विश्वको तापक्रम वृद्धि चुनौतिपूर्ण रहेको स्वीकार गरिएको छ । यस्तै अमेरिकाले अरु देशलाई इन्धनको प्रयोग स्वच्छ रुपले गर्न सहयोग गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन हल्ला मात्रै रहेको भन्दै अमेरिकामा बन्द अवस्थामा रहेका कोइला खानी फेरि सञ्चालनमा ल्याउने बताइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org