ताजा समाचार

भारत सरकारले दार्जीलिङबासीमाथि नाकाबन्दी लगाएपछि नेपालको दाल चामल उपभोग गर्दै

इलाम, २५ असार । नाकाबन्दीमा फसेको दार्जीलिङमा नेपालको दाल चामल निर्यात हुन थालेको छ । लामो समयदेखि चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका हुन् ।

दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् ।

सिलीगुडीबाट पहाड तर्फ खाद्यान्न ढुवानीमा रोक लगाइए पनि झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जीलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सम्भव छैन । आवश्यक परेका यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीय बताउँछन् ।

सामरिक हिसाबले ‘चिकेन नेक’ मानिने भारतको पूर्वोत्तर नाकामा खाद्यान्न आपूर्ति बन्द गर्ने र दार्जीलिङ एवं सिक्किमबासीलाई भोकै पारेर गलाउने पश्चिम बंगाल सरकारको नीति अन्ततः निस्प्रभावी बन्ने देखिएको छ ।

पशुपतिनगर(मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिक रूपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए । सामान्य अवस्थामा भारतीय बजारमा खाद्य सामाग्रीहरु तुलनात्मक रुपमा सस्तो पाइने भएकाले सीमा क्षेत्रका नेपालीहरुसमेत भारतीय बजारबाटजाने गर्दथे । तर, आन्दोलन र भारतीय सरकारको नाकाबन्दीका कारण त्यसको ठीक उल्टो भारतीय नागरिकहरु चाहिँ नेपाली बजारमा आश्रित हुन थालेका छन् ।

यसैबिच गोर्खाल्याण्ड आन्दोलन वैधानिक हुँदा हुँदै पनि पश्चिम बंगाल सरकारले दमन गरेको र त्यसको मार सिक्किमलाई परेको भन्दै सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ राईले पश्चिम बंगाल सरकारलाई सर्वोच्च न्यायालयमा मुद्दा लगाउने बताएका छन् । पश्चिम बंगाल सरकारलाई ६० हजार करोडको क्षपिूर्ति दाबी गर्दै मुद्धा दायर गर्ने मुख्यमन्त्री चाम्लिङले बताएका छन् । उनले यसपटक खुलेरै गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org