ताजा समाचार

अब संविधान संशोधन विद्येयक अगाडि बढ्ने प्रचण्डको दाबी

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले विद्येयक अगाडि बढ्ने बताएका हुन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने उद्धेश्यका साथ अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रिया अगाडि बढ्ने दावी गरे । संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प नरहेको बताए ।

बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए । बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो ।

श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org