ताजा समाचार

अब विदेशमा मृत्यु भएका नेपालीका परिवारले ७ लाख क्षतिपूर्ति पाउने

काठमाडौं, २८ असार । अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् । मृतकका परिवारले अहिलेसम्म ३ लाख क्षतिपूर्ति पाउँदै आएका थिए । अब ४ लाख थप गरी क्षतिपूर्तिबापत ७ लाख रुपैयाँ पाउने भएका हुन् । मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरेको छ ।

यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिए। ‘राजपत्रमा सूचना प्रकाशित भएकै दिनदेखि यो निर्णय कार्यान्वयनमा जान्छ । त्यसपछि मृतकका परिवारले अहिले बोर्डबाट पाउने भन्दा ४ लाख बढी क्षतिपूर्ति बुझ्छन् । काफ्लेले भने ।

अब बीमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् । अघिल्लो वर्षको भदौ २३ गते संसदमा सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति बापतको रकम ७ लाख रुपैयाँ बनाउने घोषणा गरेका थिए । तर, त्यसको झण्डै एक वर्षपछि मन्त्रिपरिषदले यो प्रस्ताव पारित गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org