ताजा समाचार

साउन ९ गतेदेखि फेरी आमरण अनसन बस्ने गोविन्द केसीको घोषणा, ८ बुँदे माग अघि सारे

काठमाडौं, १ साउन । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले साउन ९ गतेदेखि फेरी आमरण अनसन बस्ने घोषणा गरेका छन् । आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै केसीले अनसन बस्ने घोषणा गरेका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले साउन ९ गते अपराह्न ४ बजे अनसन सुरु गर्ने बताएका छन् । उनले ८ बुँदे माग अघि सारेका छन् । जसमा माथेमा आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने पहिलो माग छ ।

यस्तै आईओएम डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्वन्धी त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नुपर्ने र सरकारी निर्देशन तथा अदालतको ओदश अटेर गर्ने मेडिकल कलेजको सम्वन्धन खारेज गर्नुपर्ने माग छ ।

चिकित्सा शिक्षा आयोग नबन्दासम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्नुपर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यसै शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्व विद्यालयमा जस्तै सबै निजी कलेजमा २२ लाख कायम गर्नुपर्ने उनको अर्को माग छ । साथै आईओएममा पदाधिकारी नियुक्त नगरेको, अधिकार खोसेको तथा धेरै शुल्क लिएकोमा भन्दै त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्न पनि उनले माग गरेका छन् ।

मागहरु

  • तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
  •  चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस्
  • आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस्
  • आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस्
  • सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस्
  • चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् ।
  • एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस्
  • आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org