ताजा समाचार

गोर्खाल्याण्ड आन्दोलनप्रति गम्भिर बन्न सरकारलाई भारतीय कम्युनिष्ट पार्टीको आग्रह

काठमाडौं, १ साउन । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येंचुरीले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेखेका छन्। भारतको दार्जीलिङमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै राजनाथ सिंहलाई पत्र लेखेका हुन् । पत्रमा येंचुरीले दार्जीलिङ पहाडको समस्या समाधान गर्न त्रिपक्षीय वार्ता गराउनुपर्ने माग गरेका छन्।

‘राज्य सरकारले पहाडमा आर्थिक नाकाबन्दी गरेको अनि औषधी–मूलो पनि पहाडमा जान नदिएर गम्भिर मानवअधिकार हनन् भइरहेको पनि जानकारी पाइएको छ’, उनले पत्रमा लेखेका छन,‘ केन्द्र सरकारले यथाशीघ्र त्रिपक्षीय वार्ता गरेर पहाडको अस्थिर स्थितिलाई साम्य बनाउने कार्य गर्नुपर्छ।’

उनले त्रिपक्षीय वार्ताबाट मात्रै समस्याको समाधान निकाल्न सकिने भन्दै केन्द्र सरकार यसमा गम्भिर बन्नुपर्नेमा जोड दिएका छन्। ‘त्रिपक्षी वार्ताबाट मात्रै पहाडको स्थिति साम्य बनाउन सकिन्छ’, येंचुरीले भनेका छन,‘ तर पनि केन्द्र सरकारको तर्फबाट वार्ताको कुनै छाँटकाँट देखिएको छैन्।’ लामो समय देखि दार्जीलिङमा संकट जारी रहँदा पनि केन्द्र सरकारले कुनै पहल नगरेको भन्दै आक्रोस बढ्न थालेको छ।

पश्चिम बंगाल सरकारले स्कुलहरुमा बंगाली भाषा अनिर्वाय बनाए पछि त्यसको विरोधमा करिब एक महिना देखि दार्जीलिङ बन्द छ । उक्त संकटलाई लिएर केन्द्र सरकारले अहिलेसम्म पनि वार्तामा नबोलाए पछि गोर्खाल्याण्ड मूभमेन्ट को–अर्डिनेशन कमिटिका घटक दलहरुमा पनि आक्रोस देखिएको छ। आन्दोलनमा अहिलेसम्म ७ जनाको ज्यान गइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org